रसुवा । रसुवा जिल्लास्थित नेपाल-चीन सिमानामा बग्ने लेन्दे खोलामा आषाढ २४ गते आएको बाढीले ठूलो जनधनको क्षति भएको छ। बाढीका कारण २० जना बेपत्ता भएका छन् भने ५ वटा शव र शरीरका भागहरू फेला परेका छन्। बेपत्ता हुनेमा नेपाल प्रहरीका ३ जना, नेपाली कामदार ६ जना, ड्राइभर ५ जना र चिनियाँ नागरिक ६ जना रहेको नेपाली सेनाले जनाएको छ । फेला परेका शवहरूको परिचय खुल्न बाँकी छ।
बाढीले स्याफ्रुबेसी–टिमुरे सडक खण्डमा विभिन्न स्थानमा गएको पहिरोले यातायात अवरुद्ध भएको छ। बेपत्ता व्यक्तिहरूको खोज, उद्धार र पहिरो हटाउने कार्यका लागि नेपाली सेनाको श्रीनाथ गणको टोली गोसाईंकुण्ड गाउँपालिका–५, चिलिमे हाइड्रोपावर र रोंगापुल क्षेत्रमा खटिएको छ।
उद्धार टोलीले प्रभावित क्षेत्रमा तीव्र गतिमा कार्य गरिरहेको छ। बाढीबाट भएको क्षतिको पूर्ण विवरण संकलन गर्ने कार्य जारी रहेको नेपाली सेनाले प्रशासनलाई जानकारी दिएको छ ।







