जनकपुरधाम । जनकपुरधाम उद्योग वाणिज्य संघले जनकपुरको एक सुन पसलमा प्रहरीले छापा मार्ने क्रममा भएको विवादको घटनाबारे छानबिन गरी दोषीमाथि कारबाहीको माग गरेको छ ।
शुक्रबार जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक गणेशबहादुर बमको नेतृत्वमा गैर कानुनी छापा मार्ने क्रममा झडप भएको थियो । त्यस क्रममा संघका अध्यक्ष सुरेन्द्र भण्डारी घाइते बनाउने घटनाको छानबिन गरी त्यसमा संलग्नलाई कारबाहीको माग गर्दै आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा लिखित ज्ञापन पत्र पठाएको वरिष्ठ उपाध्यक्ष मनोजकुमार साहले जानकारी दिए ।
प्रहरीले अवैध कारोबार भइरहेको भन्दै शुक्रबार साँझ जनकपुरधाम–५ स्थित सञ्जय पायल ज्वेलर्स पसलबाट चाँदी तथा सुनका गरगहना जफल गर्न खोज्दा विवाद भएको थियो ।
विवादको समयमा प्रहरी तथा व्यवसायीबीच झडप पनि भएको थियो । त्यस बेला प्रहरीले अश्रृग्याससमेत प्रहार गरेको थियो । संघका अध्यक्ष भण्डारीले तिहारको बेला प्रहरी एक्लैले छापा मार्न नमिल्ने भनेर विरोध गर्दा उनीमाथि कुटपिट भएको र हाल उनको जनकपुरधाम प्रादेशिक अस्पतालको सघन कक्षमा उपचार भइरहेको संघले जनाएको छ ।
संघका वरिष्ठ उपाध्यक्ष साह नेतृत्वमा प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यलाई अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीलाई पठाउने गरी ज्ञापन पत्र बुझाइएको हो ।







