काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बुधबार बालाजु औद्योगिक क्षेत्रस्थित सूर्य फुड प्रोसेसिङ इन्डस्ट्रिजमा गरेको अनुगमनमा अनेकौं अनियमितता फेला परेको छ। विभागमा प्राप्त गुनासोका आधारमा गरिएको उक्त निरीक्षणमा उद्योगले कानुनी अनुमति बिना विभिन्न खाद्य पदार्थहरूको उत्पादन, प्याकेजिङ तथा बिक्री–वितरण गरिरहेको पाइएको हो।
अनुगमनका क्रममा उद्योगले आटा, मैदा, सुजि, फिङ्गर चिप्स, बेसनलगायतका खाद्य वस्तुहरूको उत्पादन तथा बिक्री–वितरण गर्दै आएको र अन्य खाद्य पदार्थ उत्पादनका लागि लिएको अनुमतिपत्रसमेत समयमा नवीकरण नगरेको तथ्य भेटिएको विभागले जनाएको छ। साथै उद्योगको सरसफाइ अवस्था पनि कमजोर रहेको पाइएको छ।

सबैभन्दा गम्भीर रूपमा, उद्योग परिसरमा अवैध तरिकाले “कन्काई डेरी प्रोडक्ट्स प्रा.लि., कन्काई–२, झापा” लेखिएको लेबल प्रयोग गरी नौनी पगाली घ्यू उत्पादन भइरहेको पाइएको छ। विभागका अनुसार सो क्रममा करिब ४०० थान लेबल, ५०० मि.लि.का ३६ थान र १ लि.का ३३ थान प्याक गरिएको घ्यू तथा करिब ५० के.जी. कच्चा घ्यू बरामद गरिएको हो।
विभागले अवैध रूपमा उत्पादन भइरहेको घ्यू र सम्बन्धित लेबलहरू अर्को आदेश नआएसम्मका लागि रोक्का राखी उत्पादन तथा बिक्री–वितरण तत्काल बन्द गराएको छ। त्यस्तै, अनुमति नलिई उत्पादन तथा बिक्री–वितरण भइरहेका अन्य खाद्य वस्तुहरूको बिक्री वितरणमा पनि रोक लगाइएको छ।

थप अनुसन्धानका लागि विभागले नमुना संकलन गरेको छ भने सम्बन्धित उद्योगीलाई तीन दिनभित्र सम्पूर्ण कागजातसहित विभागमा उपस्थित हुन निर्देशन दिएको छ।
पछिल्लो समय विभागले खाद्य सामग्रीमा मिसावट गर्ने तथा गुणस्तरहीन खाद्य पदार्थ बिक्री–वितरण गर्नेहरूमाथि कडाइका साथ कारबाही प्रक्रिया अघि बढाइरहेको छ।
सीमित स्रोत–साधन र जनशक्तिका कारण सबै क्षेत्रमा एकै पटक पुग्न नसके पनि विभागले प्रमुख क्षेत्रहरूमा आकस्मिक अनुगमन तथा निरीक्षण गर्दै खाद्य स्वच्छता कायम राख्न निरन्तर प्रयास गरिरहेको छ।
आम उपभोक्ताले स्वच्छ तथा सुरक्षित खाद्यवस्तु उपभोग गर्ने अधिकार सुनिश्चित गर्न विभागले कुनै पनि कसुर बाँकी नराख्ने र उपलब्ध स्रोत–साधनको उच्चतम प्रयोग गरि आफ्नो जिम्मेवारी निर्वाहमा निरन्तर लागिरहेको विभागकी महानिर्देशक डा. मतिना जोशी वैद्यले बताइन्।
उनले विभागले जुनसुकै समयमा र जुनसुकै स्थानमा आकस्मिक अनुगमन गरी मिसावट तथा गुणस्तर परीक्षण गर्ने भएकाले व्यवसायीलाई गुणस्तरीय सामग्री मात्र बिक्री–वितरण गर्न आग्रहसमेत गरिन्।
साथै, उपभोक्ताहरूलाई पनि उपभोग्य मिति लगायतका गुणस्तर सूचनाबारे सजग रहन तथा कुनै शंका लागे वा अनियमितता देखिएमा विभागलाई जानकारी गराई सचेत नागरिकको भूमिका निर्वाह गर्न उनले आग्रह गरेकी छन्।







