स्थानीय सरकारले के चाहिँ राम्रो काम गरिरहेका छन् भनेर हेर्ने सबैभन्दा महत्वपूर्ण आधार त्यहाँको शिक्षा र स्वास्थ्य सेवाको अवस्था हो । त्यो आधारमा हेर्दा काठमाडौँको बुढानिलकण्ठ नगरपालिका अरुले पनि सिक्नुपर्ने उदाहरण बनेको छ ।
काठमाडौँ । तपाईं बुढानीलकण्ठ त पुग्नु भएकै होला । काठमाडौँको चक्रपथबाट उत्तरतर्फ लागेपछि केहीबेरमै पुगिने यो ठाउँ तीर्थालुहरुको आकर्षण त हुँदै हो, हाइकिङ र प्राकृतिक दृष्याबलोकनका लागि लोभलाग्दो गन्तव्य रहेको छ । नारायणथान मन्दिर, छेउमै शिवपुरी राष्ट्रिय निकुञ्ज, कलकल पानी बग्ने खोला अनि हराभरा जंगलसहितको स्वच्छ हावापानी पनि । पछिल्लो समय यो क्षेत्रमा बढिरहेको बसाइसराई र पर्यटनका पूर्वाधारले पनि यसको महत्व देखाउँछ ।
तर यहाँ हामी ठाउँ बुढानीलकण्ठ भन्दा पनि बुढानीलकण्ठ नगरपालिकाको कुरा गर्दैछौँ । त्यो नगरपालिका जसले शिक्षा र स्वास्थ्य सेवामा गरेको विकास र सुधार मार्फत् स्थानीय सरकारका खास काम देखाइरहेको छ । आखिर स्थानीय सरकारका उपलब्धि मापन गर्ने मुख्य आधार पनि यिनै हुन् ।
बुढानीलकण्ठ नगरपालिका अहिले नगरवासीका दैनन्दिनका जीवनसँग नजिक रहँदै नगरले स्वास्थ्य सेवा, पोषण, खोप कार्यक्रम, शिक्षामा पहुँच र गुणस्तर कायम, युवा सशक्तीकरण र उद्यमशीलता प्रवद्र्धन जस्ता क्षेत्रहरूमा काम गरिरहेको छ । यी कामहरुले पछिल्ला वर्षमा उल्लेख्य परिणाम दिन थालेका छन् । र यो सुधार तथ्यांकमा मात्र सीमित नभई समुदायमा महसुससमेत गर्न थालिएको छ जसले जसले नगरपालिका र सेवाग्राहीबीचको दूरी पनि क्रमश: घटाइरहेको छ ।
अहिले नगरपालिकाभित्रका स्वास्थ्य संस्थाहरूले नि:शुल्क आधारभूत स्वास्थ्य सेवा प्रदान गरिरहेका छन् । त्यस्तै, प्रसूति सेवा र सुविधा, खोप तथा पोषण कार्यक्रम, विपन्न नागरिक उपचार र प्रजनन स्वास्थ्य सेवा जस्ता लक्षित कार्यक्रम सञ्चालनमार्फत समुदायका कमजोर र जोखिममा रहेका वर्गलाई राहत दिइएको छ । शिक्षा क्षेत्रमा गुणस्तरीय र सर्वसुलभ शिक्षा सुनिश्चित गर्न विद्यालय सुधार, शिक्षक व्यवस्थापन, छात्रवृत्ति कार्यक्रम सञ्चालन गरिएको छ । त्यस्तै, सीपमूलक तालिम मार्फत बालबालिका र युवालाई सशक्त बनाउने कार्य पनि अघि बढाइएको छ ।
नगरपालिकाले शिक्षा र स्वास्थ्य सेवा वितरणमा पहुँच बढाउन भौतिक संरचना सुधार, जनचेतना अभिवृद्धि, प्राविधिक सहयोग र बजेटको प्रभावकारी प्रयोगमा जोड दिएको छ । यहाँ हामी यो नगरपालिकाले त्यस्ता के कति काम गर्यो र अरु के गरिरहेको छ भन्नेबारे चर्चा गर्ने छौँ ।
स्वास्थ्य सेवाको दायरा बिस्तार गर्दै
नेपालको संविधानले प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा नि:शुल्क प्राप्त गर्ने अधिकारलाई मौलिक हकको रुपमा व्यवस्था गरेको छ । यसैअनुसार आधारभूत स्वास्थ्य र सरसफाईको जिम्मेवारी स्थानीय तहलाई दिइएको छ । स्थानीय सरकार सञ्चालन ऐनले आधारभूत स्वास्थ्य, सरसफाई र पोषणसम्बन्धी नीति, कानून, मापदण्ड, योजना तर्जुमा, कार्यान्वयन तथा नियमन गर्ने अधिकार स्थानीय तहलाई दिएको छ ।
संविधानको यही मर्मबमोजिम ‘सुलभ स्वास्थ्य सेवा र स्वस्थ नगरबासी’ भन्ने उद्देश्यअनुसार बुढानीलकण्ठ नगरपालिकाले स्वास्थ्य संस्था सुदृढीकरण, नगर अस्पताल सञ्चालन र स्वास्थ्यकर्मीहरूको प्रभावकारी परिचालनमा जोड दिएको छ । जसअनुसार आर्थिक वर्ष २०७९/८० देखि अहिलेसम्म नगरपालिकाको जनस्वास्थ्य महाशाखाबाट एउटा नगर अस्पताल, ६ वटा स्वास्थ्य चौकी, ४ वटा आधारभूत स्वास्थ्य सेवा केन्द्र, ती अन्तर्गतका १७ वटा गाउँघर क्लिनिक तथा २५ वटा खोप क्लिनिक स्थापना र सञ्चालन गरेर नगरवासीलाई आधारभूत स्वास्थ्य सेवा प्रदान गरिएको छ ।
नगरपालिकाका १३ वटा वडामध्ये ११ वडामा सरकारी स्वास्थ्य संस्था रहेका छन् भने बाँकी २ वडामा आवश्यकता अनुसार आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थापना गर्ने योजना रहेको छ । सरकारी स्वास्थ्य संस्थाहरूमार्फत विभिन्न स्वास्थ्य सेवा प्राप्त गर्ने सेवाग्राहीको संख्या पनि क्रमश: बढ्दो छ। औषधि तथा स्वास्थ्य उपकरणको उपलब्धता, नगर अस्पतालबाट गुणस्तरीय सेवा र स्वास्थ्य बीमा तथा स्थानीय स्वास्थ्य संस्थाहरूबाट उपलब्ध सेवाको बारेमा जनचेतना बृद्धि भएसँगै सेवाग्राहीको संख्या वृद्धि भएको नगरपालिकाले जनाएको छ ।

राष्ट्रिय खोप कार्यक्रम
बुढानीलकण्ठ नगरपालिकामा रहेका स्वास्थ्य संस्थाहरूले २५ वटा खोप क्लिनिकमा ३६ वटा सेसनमार्फत राष्ट्रिय खोप कार्यक्रम सञ्चालन गरेर नियमित खोप सेवा प्रदान गर्दै आएका छन् । पछिल्ला तीन वर्ष वर्षमा खोप प्राप्त गर्ने बालबालिका र गर्भवती महिलाको संख्या उल्लेख्य देखिन्छ ।
विपन्न नागरिक औषधि उपचार
वडा कार्यालयहरुबाट विपन्नको सिफारिस लिएर आएकालाई नगरपालिकाले तोकिएका आठवटा कडा रोगको उपचारका लागि नेपाल सरकारले तोकेको सहुलियतका लागि सिफारिस गर्छ । यो सेवाअन्तर्गत यस गत आर्थिक वर्षमा मात्र १६७ जना बिपन्न बिरामीले सेवा लिए। त्यसमा क्यान्सर, मुटुरोग र मिर्गौला रोगका बिरामी धेरै छन् । नगरपालिकाले आगामी दिनमा नसर्ने रोगको रोकथाममा समुदायस्तरमै जनस्वास्थ्य क्रियाकलाप सञ्चालन गर्ने तयारी गरिरहेको छ ।
प्रजनन स्वास्थ्य
नगरपालिकाभित्रका स्वास्थ्य संस्थामा परिवार नियोजन, सुरक्षित मातृत्व लगायतका प्रजनन स्वास्थ्य सेवा उपलब्ध छन् । बुढानीलकण्ठ र चुनिखेल स्वास्थ्य चौकीस्थित प्रसूति केन्द्रमा सुत्केरी हुने आमालाई दुई हजार रुपैयाँ यातायात खर्च, आवश्यक पोशाकसहित न्यानो झोला उपलब्ध गराइन्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रोटोकलअनुसार ८ पटक गर्भजाँच गराएर सुत्केरी हुने आमालाई आठ सय रुपैयाँ थप दिइन्छ । नगरपालिकाको आन्तरिक स्रोतबाट प्रत्येक आमालाई प्रति व्यक्ति ३१ सय रुपैयाँ प्रसूति पोषण भत्ता पनि उपलब्ध गराइन्छ ।
आर्थिक वर्ष २०७९/८० मा प्रसूति केन्द्रमा सुत्केरी हुने आमाको संख्या १६९, २०८०/८१ मा १४५ र २०८१/८२ मा १२९ छ । नगरपालिकाले सेवासँगै भत्ताबारे जनचेतना बढाएर प्रसूति केन्द्र आउने महिलाको संख्या बढाउने लक्ष्य राखेको छ । त्यसका लागि नवनिर्मित नगर अस्पतालबाट गुणस्तरीय प्रसूति सेवा शुरु गरिएको छ ।
पोषण कार्यक्रम
बालबालिकाको विकास उनीहरुले खाने पोषणयुक्त खानेकुरामा निर्भर हुन्छ । यही कुरा बुझेर नगरपालिकाले सम्पूर्ण स्वास्थ्य संस्था तथा गाउँघर क्लिनिकमार्फत जन्मेदेखि २ वर्ष उमेरसम्म बालबालिकाको वृद्धि अनुगमन गरिरहेको छ । २०७९/८० मा १ वर्षमुनिका २ हजार ३ जना बालबालिकाको अनुगमन भएको थियो भने २०८०/८१ मा १ हजार ६५२ बालबालिकाको । भौतिक संरचना सुधारसँगै खोप क्लिनिकमा बालबालिकाको उपस्थिति बढाउने प्रयास पनि जारी छ ।
क्षयरोग नियन्त्रण
नगरपालिकाका सम्पूर्ण स्वास्थ्य संस्थामा क्षयरोग उपचार निशुल्क हुन्छ । बुढानीलकण्ठ स्वास्थ्य चौकी, कपन स्वास्थ्य चौकी र नगर अस्पतालमा तालिमप्राप्त दक्ष स्वास्थ्यकर्मीले क्षयरोगका विरामीको नि:शुल्क निदान गरिरहेका छन् ।
प्राकृतिक चिकित्सा
नेपालको संविधान, सरकारको पञ्वर्षीय योजना, स्वास्थ्य क्षेत्र रणनीति, जनस्वास्थ्य ऐन तथा नियमावली, स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा आयुर्वेद र वैकल्पिक चिकित्सा पद्दतिलाई वैज्ञानिकीकरण गर्दै मूलधारमा ल्याउन उल्लेख छ । नगरपालिकाले वडा नम्बर २ मा नागरिक आरोग्य सेवा केन्द्र बागमती प्रदेश सरकारको समन्वयमा सञ्चालन गरेको छ । आयुर्वेद तथा वैकल्पिक चिकित्सालाई स्थानीय तहमार्फत मुख्यधारमा ल्याउन गरिएको प्रयासले स्वास्थ्य सेवा विविधीकरणतर्फ सकारात्मक संकेत दिएको छ ।
नगरपालिकाले आधारभूत स्वास्थ्य सेवा सुदृढीकरणलाई प्राथमिकतामा राख्दै संस्थागत संरचना, सेवा विस्तार र जनचेतना वृद्धि-तीनै मोर्चामा उल्लेखनीय प्रगति गरेको देखिन्छ । नगर अस्पतालदेखि स्वास्थ्य चौकी, गाउँघर क्लिनिक र खोप केन्द्रसम्म पहुँच विस्तार भएपछि सेवाग्राहीको संख्या निरन्तर बढ्दो छ ।
नगरपालिकाका जनस्वास्थ्य महाशाखा प्रमुख कुमार प्रसाद दाहाल मातृ, नवजात शिशु तथा बाल मृत्युदर घटाउन निरन्तर सुधारको पहल गरिरहेको बताउँछन् । महिला स्वास्थ्य स्वयंसेविकामार्फत् स्वास्थ्यसम्बन्धी सूचना घरघरमा पुर्याउने कामलाई अघि बढाइरहेको उल्लेख गर्दै दाहालले खोपको दायरा बढाउन पनि विशेष पहल भइरहेको, नवविवाहित दम्पतीलाई प्रजनन स्वास्थ्य, यौन शिक्षा तथा सम्भावित स्वास्थ्य जोखिमबारे बुझाउने कार्यक्रम पनि सञ्चालन गरिएको जानकारी दिए । उनले पालिकाभरका कामदारलाई पेसागत स्वास्थ्य सुरक्षाबारे सचेतना दिने गतिविधि पनि सञ्चालन गरिएको बताए ।

जनघनत्व बढी भएको बुढानीलकण्ठमा स्थायी बासिन्दाको तुलनामा बाहिरबाट आएर भाडामा बसेका व्यक्तिले स्वास्थ्य सेवा धेरै लिने गरेको देखिन्छ । विभिन्न सूचकहरूले पनि स्थायी बासिन्दाले स्वास्थ्य सेवा कम लिएको देखाउँछन् । वडा नम्बर ४ र ७ मा डिजिटल फ्यामिली हेल्थ प्रोफाइल बनाउन थालिएपछि यस्तो अवस्था देखिएको दाहालले जानकारी दिए । नगरपालिकाले महिलाको पाठेघर क्यान्सरसहित अन्य रोगहरूको स्क्रिनिङ सेवा पनि उपलब्ध गराउँदै आएको छ ।
शिक्षा सुधारको पहल
नेपालको संविधानले शिक्षा सम्बन्धी हकलाई मौलिक हकका रूपमा प्रत्याभूत गरेको छ । आधारभूत शिक्षामा पहुँच, आधारभूत तहसम्मको अनिवार्य र नि:शुल्क शिक्षा तथा माध्यमिक तहसम्मको नि:शुल्क शिक्षा पाउने हक प्रत्येक नागरिकलाई संविधानले प्रत्याभूत गरेको छ । संविधानत: आधारभूत र माध्यमिक शिक्षाको जिम्मेवारी स्थानीय तहलाई दिएको छ । त्यसैगरी, सहस्राब्दी विकास लक्ष्यले पनि सबैले प्राथमिक शिक्षा अनिवार्य रूपमा पाउनुपर्ने कुरालाई अंगीकार गरेको छ ।
यसलाई जिम्मेवारीका रुपमा अबलम्बन गरेर बुढानीलकण्ठ नगरपालिकाले दीर्घकालीन विकासका लागि शिक्षा विकास महत्वपूर्ण क्षेत्र भएको निक्र्योल निकाल्दै ‘सर्वसुलभ, गुणस्तरीय र जीवन उपयोगी शिक्षा’को नारा नै अंगीकार गरेको छ । त्यसको सार्थक कार्यान्वयनका लागि शुरुआती वर्षदेखि नै पहल गरिरहेको छ ।

गुणस्तर सुधारको प्रयास
बुढानीलकण्ठ नगरपालिका क्षेत्रमा १४७ विद्यालय रहेकोमा १२८संस्थागत र १९ सामुदायिक विद्यालय छन् । शैक्षिकसत्र २०८२ मा चार नयाँ संस्थागत विद्यालय र सामुदायिकतर्फ एक मावि थपिए । दुई सामुदायिक विद्यालय प्राथमिकबाट आधारभूत विद्यालयमा स्तरोन्नती भए ।
तर कक्षा ११ र १२ मा विद्यार्थी संख्या घटेको छ । सामुदायिक विद्यालयमा औसतमा प्रतिविद्यालय ३९५ संस्थागतमा २७१ विद्यार्थी छन् । यहीकारण नगरपालिका विद्यार्थी संख्या बढाउने योजनामा छ । नगरपालिकाको तथ्यांकअनुसार तीन सामुदायिक क्याम्पसमा १ हजार ४४४ जना विद्यार्थी अध्ययनरत छन् जसमा अधिकांश छात्रा छन् । नगरपालिकाले प्रत्येक नागरिकलाई स्नातक उतीर्ण गराउने सोचसँगै कपन बहुमुखी क्याम्पसलाई आर्थिक सहयोगसमेत गरेको छ । नगरपालिकामा सञ्चालित १९ सामुदायिक विद्यालयमा २४३ शिक्षक स्वीकृत दरबन्दी (दरबन्दी र राहत) मा कार्यरत छन् । नगरपालिकाले शिक्षक बैंक स्थापना गरी प्रत्येक विद्यालयमा गणित, विज्ञान र अंग्रेजीका शिक्षक दरबन्दीको सुनिश्चितता गरेको छ । शिक्षक बैंकमार्फत खेलकुद, योग, संगीततर्फका शिक्षकसमेत व्यवस्थापन गरिएको छ जसको उद्देश्य शिक्षाको गुणस्तर सुधार गर्नु हो ।
बालविकास शिक्षकको व्यवस्था
नगरपालिकाले पछिल्लो समय दुइजना बालविकास शिक्षक र दुई विद्यालयमा कर्मचारीको व्यवस्था गरेको छ । संघीय सरकारबाट विद्यालय कर्मचारी र बालविकास शिक्षकका लागि प्राप्त प्रोत्साहन रकम न्यून भएकाले बालविकास शिक्षकको पारिश्रमिकमा नगरपालिकाले मासिक नौ हजार र विद्यालयका लेखापाल तथा कर्मचारीको पारिश्रमिकमा मासिक पाँच हजार थप गरी उपलब्ध गराउँदै आएको छ ।
बुढानीलकण्ठस्थित चारवटा विद्यालयमा विभिन्न तीन विषयमा सञ्चालित प्राविधिक तथा व्यावसायिक विषयमा ६३५ विद्यार्थी अध्ययनरत छन् जसमा छात्रा ३८.५६ र छात्र ६१.४४ प्रतिशत छन् । नगरपालिका र ध्रुवतारा कार्नेभ्यालीको साझेदारीमा १० जना विद्यार्थीले छात्रवृत्तिमा सिभिल इन्जिनियरिङतर्फ डिप्लोमा अध्ययन गरिरहेका छन् ।
छात्रवृत्ति कोटा
अनिवार्य तथा नि:शुल्क शिक्षा नियमावली २०७७ को नियम ११ अनुसार नगरपालिकास्तरमा छात्रवृत्ति व्यवस्थापन समिति गठन गर्नुपर्ने व्यवस्था छ । जसले अनिवार्य तथा नि:शुल्क शिक्षा ऐन २०७५ को दफा २७ अनुसार संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थी संख्याको आधारमा जम्मा छात्रवृत्ति कोटा निर्धारण गर्छ । उक्त कोटामध्ये ५० प्रतिशत कोटालाई जेहेन्दार कोटा र बाँकी ५० प्रतिशतलाई शतप्रतिशत मानेर सोको ३३ प्रतिशत छात्रा, २७ प्रतिशत आदिबासी जनजाति, २२ प्रतिशत मधेशी, ९ प्रतिशत दलित, ४ प्रतिशत पिछडिएको क्षेत्र, ३ प्रतिशत अपाङ्ग र २ प्रतिशत शहीद परिवार तथा द्वन्द्वपीडित कोटा कायम गरेर समितिले त्यसमा छनोट गरी असार महिनाभित्र नगरपालिकामा पठाउने व्यवस्था मिलाइएको छ ।
संस्थागत विद्यालय नियमन
संस्थागत विद्यालयहरूलाई स्पष्ट मापदण्डमा सञ्चालन गर्न संस्थागत विद्यालय सञ्चालन मापदण्ड २०८० जारी गरिएको छ जसको कार्यान्वयनलाई प्रभावकारी बनाउन पालिकाले नियमित रूपमा विद्यालय अनुगमन र निरीक्षण गरिरहेको छ । २०८१ वैशाख र जेठमा मात्र ४२ विद्यालयको अनुगमन–निरीक्षण गरी विद्यालय हाताभित्रबाट मापदण्डविपरीत स्टेशनरी सामग्री बेच्ने १४ विद्यालयलाई कारबाहीको दायरामा ल्याइएको छ ।
नगरपालिकाले निर्धारण गरेको शुल्क ढाँचा, छात्रवृत्ति कोटा र निर्देशन पालना नगर्ने विद्यालयविरुद्ध आउने गुनासा र उजुरीहरूलाई शीघ्र रूपमा फछ्र्योट गरिन्छ । विपन्न र विभिन्न समस्याका कारण विद्यालय शिक्षालाई निरन्तरता दिन नसकेका बालबालिकाको अधिकार सुनिश्चित गर्न नगरप्रमुख छात्रवृत्ति कार्यविधि २०७९ समेत जारी गरेर लागु गरिएको छ ।
अन्तरपालिका साझेदारी
बुढानीलकण्ठ नगरपालिकाले यतिबेला शिक्षामा अर्को काम पनि गरिरहेको छ । त्यो हो– यस नगरपालिकाका असल शैक्षिक अभ्यासहरूलाई अन्य पालिकासम्म पुर्याउने र अन्य पालिकाका असल अभ्यासहरूबाट पाठ सिकेर शिक्षाको सबलीकरण गर्ने । यही उद्देश्यका साथ बुढानीलकण्ठले काठमाडौँ उपत्यकाका अन्य पालिकाहरुसँग साझेदारी, सहकार्य र समन्वय पनि गरिरहेको छ । साथै कर्णाली प्रदेशका डोल्पा र जाजरकोट जिल्लाका अरु केही पालिकासँग पनि सहकार्य अपरिहार्य भन्ने मूल नाराका साथ अन्तरपालिका सहकार्य सम्झौता गरिएको नगरपालिकाले जनाएको छ ।

बुढानीलकण्ठ नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख ललित विक्रम सिंह पालिकाले शिक्षा, सीप, उद्यमशीलता र रोजगारीलाई आपसमा ‘इन्टरकनेक्ट’ गर्दै कार्यक्रम अघि बढाइरहेको बताउँछन् । “हरेक हप्ता रमाइलो शुक्रबार कार्यक्रममार्फत विभिन्न गतिविधि सञ्चालन गर्दै आएका छौँ,” सिंहले भने । पालिकाभरका सामुदायिक विद्यालयमा करिअर काउनसिलिङ कार्यक्रम सञ्चालन गरेर हरेक विद्यार्थीका कम्तीमा तीनवटा सीप पहिचान पनि गरिएको उनले बताए ।
तीन वर्षयता पालिकाका विद्यार्थीको शैक्षिक नतिजामा निरन्तर सुधार भएको, पहिले एसइईमा प्रथम श्रेणी ल्याउने विद्यार्थी (सामुदायिक विद्यालयबाट) दुई जनामात्र रहेकोमा अहिले त्यो संख्या बढेर ६४ पुगेको उल्लेख गर्दै उनले भने, “सघन सिकाइ–शिक्षण अभ्यासले पनि नतिजा सुधारमा सहयोग पुगिरहेको छ । हरेक महिनाको अन्त्यतिर पालिकाभरका सामुदायिक विद्यालयमा विद्यार्थी गुनासो सुनुवाइ कार्यक्रम चलाइएको छ, त्यसले शिक्षामा सकारात्मक प्रभाव परेको छ ।”
युवालाई सीप, रोजगारी र उद्यमशीलता
कुनै पनि मुलुकको समृद्धि मुलत: त्यहाँ युवा कति छन् र तिनको सीप र उर्जाको सदुपयोग कसरी गरिन्छ भन्नेमा निर्भर हुन्छ । नेपालको संविधानले युवाको सर्वांगीण विकास, सशक्तिकरण र उद्यमशीलताका लागि शिक्षा, स्वास्थ्य, रोजगारीलगायत क्षेत्रमा विशेष अवसर प्रदान गर्नेमा जोड दिएको छ । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को प्रस्ताव २२५०, दिगो विकास लक्ष्यहरू र युथ भिजन २०२५ ले पनि युवाको विकास र सहभागितामै जोड दिएका छन् ।
बुढानीलकण्ठ नगरपालिकाले पनि वार्षिक योजना तर्जुमा, यसको कार्यान्वयन र अनुगमन प्रक्रियामा युवाको सहभागिता बढाउँदै लगेको छ । साथै, ‘स्वस्थ, शिक्षित र जिम्मेवार युवाको जाँगर: स्वच्छ, शान्त नगर, समृद्ध भविष्यको आधार’ भन्ने सोच र नाराका साथ युवाको विकासका लागि कार्यक्रम तथा बजेट विनियोजन गरिएको छ । अनि उनीहरूको शिक्षा, स्वास्थ्य र उद्यमशीलता प्रवद्र्धनका विविध कार्यक्रम सञ्चालनमा ल्याइएको छ ।

नगरपालिकाभित्रका बेरोजगार युवालाई रोजगारीमा स्थानान्तरण गर्न १० महिने सीपमूलक तालिम सञ्चालनमा रहेको छ, जसमा १२ जनाले सिनियर प्लम्बिङ, ८० जनाले कम्प्युटर हार्डवेयर र ६० जनाले सिनियर कुकम्यान तालिम लिइरहेका छन् ।
बुढानीलकण्ठको समग्र सूचक राष्ट्रिय औसतभन्दा धेरै माथि देखिन्छ । प्राथमिक तथा आधारभूत तहमा विद्यार्थी भर्नादर शतप्रतिशत हाराहारी छ । विद्यार्थीको उपलब्धि दर आधारभूत तहमा ६९.९ प्रतिशत, माध्यमिक तहमा ६८.९ प्रतिशत देखिन्छ । विद्यालय तहमा लैङ्गिक समता सूचक समदूरीमा पुगेको छ भने क्याम्पस तहमा छात्राको संख्या ६२ प्रतिशत पुगेको छ ।
यहाँका सामुदायिक विद्यालयमा अध्यापनरत शिक्षकमध्ये ५५.४ प्रतिशतले स्नातकोत्तर उपाधि हासिल गरेका छन् भने २३.२ प्रतिशतले स्नातक गरेका छन् । तोकिएको न्यूनतम योग्यता मात्र भएका शिक्षकको संख्या १६.११ प्रतिशत छ ।
सामुदायिक विद्यालयमा अध्यापनरत शिक्षकमध्ये २० वर्षभन्दा बढी शिक्षण सेवा गर्ने शिक्षकहरूको संख्या २१.४ प्रतिशत, १५–२० वर्ष सेवाअवधि पुगेका २२.७ प्रतिशत,१०–१५ वर्ष, ५–१० वर्ष र ०–५ वर्षको सेवाअवधि पुगेका शिक्षकको अनुपात क्रमश: ३८.८, १३.९ र ७.२ प्रतिशत छ । उनीहरूको पेसागत सन्तुष्टिको अवस्था हेर्दा सन्तुष्ट शिक्षकको अनुपात ८९.३ प्रतिशत छ, असन्तुष्ट र तटस्थ रहेका शिक्षकको अनुपात क्रमश: ५.४ प्रतिशत र ५.३ प्रतिशत मात्र छ ।
नगरपालिकाले २०८० देखि कार्यान्वयनमा ल्याएको शिक्षक डायरी सामुदायिक विद्यालयका १३.८ प्रतिशत शिक्षकले धेरै राम्रोसँग कार्यान्वयन गरेको देखियो । राम्रो स्तरमा शिक्षक डायरी कार्यान्वयन गर्ने शिक्षक अनुपात ४७.७ प्रतिशत, उपयुक्त स्तरमा कार्यान्वयन गर्ने २० प्रतिशत र कमजोर १२.३ प्रतिशत देखिए ।
नगरपालिकाल ‘सर्वसुलभ, गुणस्तरीय र जीवन उपयोगी शिक्षा’को अवधारणालाई व्यवहारमा उतार्दै विद्यालय सुधार, शिक्षक व्यवस्थापन, छात्रवृत्ति कार्यक्रम र सीपमूलक तालिममार्फत युवालाई सशक्त बनाउने कार्यलाई प्राथमिकतामा राखेको छ । यसले दीर्घकालीन रूपमा शिक्षा र उद्यमशीलतामा सकारात्मक प्रभाव पार्ने आशा जगाएको छ ।
शिक्षा–स्वास्थ्यको बजेट खर्च प्रभावकारी
नगरपालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रमा बिनियोजित बजेट बजेटको प्रभावकारी रुपमा सदुपयोग र खर्च गरेको देखिन्छ । शिक्षा क्षेत्रमा आर्थिक वर्ष २०७८/७९ मा २६ करोड ६९ लाख ४ हजार रुपैयाँ विनियोजन भएकोमा २१ करोड ६७ लाख ९६ हजार ३३६ रुपैयाँ अर्थात् ८१.२३ प्रतिशत खर्च भएको थियो । त्यसपछि २०७९/८० मा ८१.६७ प्रतिशत, २०८०/८१ मा ७४.९२ र गत आर्थिक वर्षको जेठ मसान्तसम्म ६७.०३ प्रतिशत खर्च भएको देखिन्छ ।
स्वास्थ्यमा पनि २०७८/७९ मा ११ करोड ९१ लाख ७४ हजार विनियोजन भएकोमा ६ करोड ३४ लाख १३ हजार ५४२ रुपैयाँ अर्थात् ५३.२१ प्रतिशत, २०७९/८० मा ४४.०९ प्रतिशत, २०८०/८१ मा ५०.०६ प्रतिशत र गत आर्थिक वर्षको जेठ मसान्तसम्म ६१.३२ प्रतिशत खर्च भएको देखिन्छ । शिक्षा र स्वास्थ्यमा बजेटको उपयोगले सेवामै सुधार ल्याएको देखिन्छ ।
निष्कर्ष
नगरपालिका शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारसँगै युवा सशक्तिकरण र उद्यमशीलता प्रवद्र्धनमा द्रुत गतिमा छ । भौतिक संरचना, जनचेतना अभिवृद्धि, बजेटको प्रभावकारी प्रयोग र सेवाग्राही–नगरपालिकाबीचको निकटता बढाउनसमेत यसबाट सफलता मिलेको छ । शिक्षा र स्वास्थ्य क्षेत्रमा बजेटको प्रभावकारी प्रयोगले सेवाको गुणस्तरमै सुधार ल्याएको छ । साथै, लैङ्गिक समानता र सामाजिक समावेशितालाई प्रवद्र्धन गर्दै नगरपालिकाले दीर्घकालीन विकासका लागि आवश्यक पूर्वाधार पनि तयार पारिरहेको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौला भन्छन् “हामीले शिक्षा र स्वास्थ्यमा गरेको लगानी नागरिकको जीवनस्तर उकास्ने आधार हो । जनताको घरदैलोसम्म गुणस्तरीय सेवा पुर्याउनु हाम्रो पहिलो प्राथमिकता हो र यो निरन्तर अघि बढ्छ ।”
समग्रमा, बुढानीलकण्ठ नगरपालिका आफ्नो जनसेवाकेन्द्रित दृष्टिकोण, त्यसको योजनाबद्ध कार्यान्वयन र दीर्घकालीन सोचमार्फत स्थानीय सरकार सञ्चालनको अरुले पनि सिक्नुपर्ने उदाहरण बनेको छ ।







