काठमाडौँ । सरकारले आधा दर्जनभन्दा बढी सचिवको सरुवा गर्ने निर्णयसँगै विवादमा तानिँदै आएका सचिव राम आधार साह पुन: खानेपानी मन्त्रालयमा फर्किएका छन् । यसअघि केही महिना सोही मन्त्रालयमा काम गरेका साहलाई सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दोस्रो पटक खानेपानी मन्त्रालयमै पठाएको हो । तत्कालीन मन्त्री प्रदीप यादवको सरुवा तथा ठेक्का ‘ताण्डव’को भुङ्ग्रोबाट तङ्ग्रिन नपाउँदै खानेपानी मन्त्रालयमा अर्का विवादित सचिव साहलाई पठाइएसँगै कर्मचारीहरू थप त्रासदीकैबीच अहिले ११ बजे स्वागत गर्दैछन् ।
पेट्रोल पम्पमा रिमोटमार्फत ठगी गर्न चिप्स जडान गरिएको मिलेमतोमा २०७२ तिर पक्राउ परेपछि चर्चामा आएका साह त्यति बेला गुणस्तर तथा नापतौल विभागका महानिर्देशक थिए । उक्त चर्चा सेलाउन नपाउँदै २०७३ तिर प्राविधिकतर्फका साहलाई प्रशासन सेवामा लैजाने प्रस्तावले ठुलै हल्खिखल्लि मच्चायो । सत्य निरुपण र बेपत्ता आयोगको म्याद थप्न आकस्मिक रूपमा २०७३ माघ २७ गते बिहीबार बोलाइएको मन्त्रिपरिषद् बैठकमा तत्कालीन सामान्य प्रशासन मन्त्री केशवबहादुर बुढाथोकीले साहलाई प्रशासन सेवा समूहमा लैजाने ठाडो प्रस्ताव पेस गरेसँगै निजामती वृत्तमा ठुलै तरङ्ग फैलिएको थियो । तत्कालीन उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि सकारात्मक देखिए पनि मुख्यसचिवलगायत अन्य मन्त्रीहरूले हुनै नसक्ने भनेसँगै निर्णय हुनबाट रोकिएको थियो ।
आर्थिक र नैतिक दुवै आचरणबारे बारम्बार प्रश्न उठ्ने व्यवहारका कारण साह २०८० सालतिर खानेपानी मन्त्रालयमा सचिव भएर जाँदा पनि निरन्तर चर्चामा रहे । मन्त्री महेन्द्र राय यादवसँगको समन्वय होस् या कर्मचारी भर्ना तथा सरुवा प्रक्रियामा देखिएको संलग्नता होस् वा सरकारी सवारी साधन प्रयोगसम्बन्धी विवाद -साहको नाम निरन्तर चर्चामा रह्यो । कैयूं दिनसम्म फाइलै नभेटिएपछि मन्त्री र उनको ठुलै खटपट भएको थियो भने मन्त्रीले तत्काल सरुवा भएर जानुस् भनेका थिए । उनकै अनावश्यक दबाब र कार्यशैलीबाट आजित कर्मचारीहरू त्यहाँबाट सरुवा खोजेर भागेका थिए ।
यसै क्रममा सरुवा भई राष्ट्रिय सतर्कता केन्द्र जाँदा उनले खानेपानी सचिवको हैसियतमा प्रयोग हुने बा २ झ ५०५० नम्बरको सवारीसाधन समेत साथमै लगेका थिए, जसमा अघिल्ला मन्त्री उमाकान्त चौधरीले प्रयोग गर्ने महँगो गाडीसमेत उनले नछोडेको आरोप उठ्यो । सचिव चढ्ने सवारी मात्रै होइन, तत्कालीन उपसचिव चेतराज उप्रेतीले प्रयोग गर्दै आएको बा २ झ ३६५१ नम्बरको गाडी खोसेर घरायसी प्रयोजनमा प्रयोग गरेका थिए । दुवै गाडीको नम्बर रातो प्लेट राखिएकोले जहाँ जसरी घुम्दा पनि हुने भएकै कारण सरकारी सम्पत्तिको चरम दुरुपयोग भएको भन्दै आलोचना भएको थियो ।
काण्डैकाण्डका ‘प्रकाण्ड’ सचिव साह पहिलो पटक खानेपानी मन्त्रालयमा जाँदा त्यस्तो सचिवको रेकर्ड बनाएका थिए, जसको विरुद्धमा मन्त्रालयदेखि मातहतका सबै सहसचिवहरू मन्त्रीकोमा डेलिगेसन गए । सहसचिवको कार्य सम्पादन मूल्याङ्कन समयमै नपठाई दिएर तिरिमिरी पारेपछि मुख्यसचिवलाईसमेत भेटेर उनको रवैयाबारे असन्तुष्टि जनाउँदै सचिव साह मातहतमा कामै गर्न नसक्ने भएकोले तत्काल सरुवाको माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसम्मै पुगेका थिए ।
सरुवादेखि करार नियुक्तिसम्मै विवादित बनेका साहले विभाग तथा आयोजना कार्यान्वयन निर्देशनालयका कैयन स्रोत सुनिश्चितता र टेन्डरका फाइलमा विशेष ‘इन्ट्रेष्ट’ राख्ने गरेको चर्चा सिंहदरबारभित्र चारैतिर फैलियो । हप्तौँसम्म फाइलै नभेटिएपछि मन्त्री र उनको ठुलै खटपट भएको थियो भने मन्त्रीले तत्काल सरुवा भएर जानुस् भनेका थिए । उनकै अनावश्यक दबाब र कार्यशैलीबाट आजित कर्मचारीहरू त्यहाँबाट सरुवा खोजेर भागेका थिए ।
त्यसो त पछिल्लो समय प्रमीला देवी बज्राचार्यले पनि प्रभावकारी रूपमा काम गर्न सकिरहेकी थिइनन् । निर्णयात्मक क्षमता कमजोर भएको र अघिल्ला मन्त्री प्रदीप यादवले मन्त्रालयमा मनपरी गर्दा पनि उनी ‘मूकदर्शक’ मात्र बनेको तथा उल्टै सघाएको र कर्मचारीलाई पेलेको आरोप समेत कर्मचारीहरूले लगाएका छन् ।
अनेक खाले रवैया, बेथिति, विकृति तथा अनियमितता विरुद्धको जेन जेड आन्दोलनको जगमा बनेको सरकारले पुन: तिनै साहलाई खानेपानी मन्त्रालयमा ल्याएको छ, हेरौँ, उनको दोस्रो कार्यकालमा के कस्ता हत्कण्डाहरु अपनाइन्छन् र उनले के कसरी काम गर्छन् भन्ने जिज्ञासासमेत कर्मचारीमा बढेको छ ।
नेपाल ट्रष्टमा रहँदा सिंहदरबारभित्र प्रवेशका लागि धेरै प्रयास गरेका साहको प्राथमिक रोजाइ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र शहरी विकास मन्त्रालय रहेको थियो । जसका लागि उनले कुनै कसुर बाँकी राखेनन् तर त्यहाँ सम्भव नभएपछि अन्ततः पुन: खानेपानी मन्त्रालयमै भएपनि प्रवेश गरेका छन् ।
घुमीफेरी भौतिक नै चाहिने र पाइपनि हाल्ने केशव कुमार शर्मा अवकाश नजाउन्जेल त्याहाँको सचिव भेट्ने अवसर साहले पाउने कुरै थिएन । सहरीतिरको सेटिङले पनि उनलाई सिग्नल नदिएपछि अन्ततः खानेपानीमै भए पनि प्रवेश पाए ।







