काठमाडौँ । सस्तोमा विदेश घुमाइदिने प्रलोभन देखाएर ठूलो परिमाणमा रकम असुल गरेको आरोपमा प्रहरीले सात जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा एक नेपाली र छ जना भारतीय नागरिक रहेको जनाइएको छ।
प्रहरीका अनुसार सप्तरी कञ्चनरूप नगरपालिका-१२ का विवेक रेग्मी सहित हुसेन सैयद, साजिद ओमर सैयद, महम्मद इमरान, मिर खालिद हुसेन, रजाक महम्मद र समदा गिरीलाई नियन्त्रणमा लिइएको हो।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार हालसम्म ३२८ जनाबाट करिब २ करोड ७२ लाख ६५ हजार रुपैयाँभन्दा बढी रकम ठगी गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
अनुसन्धान विवरण अनुसार विवेक रेग्मीले गत कात्तिक १७ गते आफ्नै नाममा कम्पनी दर्ता गरी ‘सिर्तेल होलिडेज’ नामक संस्था सञ्चालनमा ल्याएका थिए। उक्त कम्पनीले करिब ३० जना नेपाली कर्मचारी राखेर नोभेम्बर १६ देखि गतिविधि सुरु गरेको पाइएको छ। कम्पनीले आफ्नो मुख्य कार्यालय भारतको हैदराबादमा रहेको भनी कर्मचारी र ग्राहकलाई जानकारी दिने गरेको समेत खुल्न आएको छ।
प्रहरीका अनुसार विभिन्न व्यापारिक केन्द्रहरूमा स्टल राखेर सर्वसाधारणलाई लटरी कार्यक्रममा सहभागी गराउने र पछि ‘लटरी परेको’ भन्दै फोनमार्फत कार्यालय बोलाएर आकर्षक होलिडे प्याकेज प्रस्ताव गर्ने गरिएको थियो। सीमित समयको अफर भन्दै तत्कालै रकम भुक्तानी गर्न दबाब दिने तथा बैंक खातामार्फत पैसा जम्मा गराउने रणनीति अपनाइएको अनुसन्धानबाट देखिएको छ।
योजना अनुसार रकम बुझाएका व्यक्तिलाई सम्झौता अनुसार विदेश भ्रमण गराइएन भने पैसा फिर्ता माग्दा विभिन्न बहाना बनाएर टार्ने गरिएको पाइएको प्रहरीले जनाएको छ। प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान जारी राखेको जनाएको छ।







