काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले बधाई तथा शुभकामना दिएका छन् ।
सामाजिक सञ्जालमार्फत उनले नयाँ सरकार गठनलाई लक्षित गर्दै खेलकुद क्षेत्रप्रति आशावादी धारणा सार्वजनिक गरेका हुन्।
उनले बहुमतसहित सरकार गठनतर्फ अग्रसर रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको सफलताप्रति शुभकामना व्यक्त गर्दै लामो समयदेखिको राजनीतिक अस्थिरता अन्त्य भई स्थायित्वतर्फ उन्मुख अवस्था सिर्जना हुने अपेक्षा व्यक्त गरेका छन्। साथै, आम नागरिकको सहभागिता र निर्णयले नयाँ राजनीतिक चरणको सुरुआत भएको संकेत दिएको उनले उल्लेख गरेका छन्।
पौडेलले यसपटक संसदमा युवा पुस्ता र नयाँ अनुहारहरूको उल्लेखनीय उपस्थितिलाई परिवर्तनको संकेतका रूपमा व्याख्या गरेका छन्। खेलकुदप्रति रुचि राख्ने व्यक्तिहरू नीति निर्माण तहमा पुगेकाले खेलाडीहरूमा उत्साह थपिएको उल्लेख गर्दै यसले खेल क्षेत्रका चुनौती र सम्भावनालाई संस्थागत रूपमा सम्बोधन गर्ने वातावरण बन्ने विश्वास व्यक्त गरिएको छ।
प्रधानमन्त्री साहको नेतृत्वमा गठन हुने सरकारले खेलकुद क्षेत्रलाई ‘खेल पर्यटन’सँग जोडेर अघि बढाउने दिशामा ठोस पहल गर्ने अपेक्षा पनि उनले व्यक्त गरेका छन्। अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिता आयोजना र पूर्वाधार विकास, विशेष गरी आधुनिक क्रिकेट रंगशालाको निर्माणमार्फत नेपाली क्रिकेटलाई विश्वस्तरमा पहिचान दिलाउन सकिने धारणा उनले राखेका छन्।
खेलकुद क्षेत्रलाई दीर्घकालीन नीति र योजनामार्फत सुदृढ बनाउनेतर्फ सरकारको ध्यान जानुपर्ने आवश्यकता औँल्याउँदै उनले आगामी दिनमा परिणाममुखी पहल हुने विश्वास व्यक्त गरेका छन्।







