काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल वायुसेवा निगमको सञ्चालक समितिमा रिक्त रहेका सदस्य पद पूर्तिका लागि आवेदन आह्वान गरेको छ ।
यसअघि मन्त्रालयले वैशाख १२ गते चार सदस्य नियुक्तिका लागि सार्वजनिक सूचना जारी गरी दरखास्त संकलन प्रक्रिया अघि बढाएको थियो । तर, त्यसक्रममै वैशाख १९ गते जारी ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ कार्यान्वयनमा आएपछि समितिका थप एक सदस्य स्वतः पदमुक्त भएका छन् ।
उक्त परिस्थितिपछि सञ्चालक समितिमा रिक्त पदको संख्या पाँच पुगेको मन्त्रालयले स्पष्ट पारेको छ । मन्त्रालयका प्रवक्ता तथा सहसचिव जयनारायण आचार्यका अनुसार यसअघि प्रकाशित सूचनालाई नै आधार मानेर अब पाँच सदस्य नियुक्ति प्रक्रिया अघि बढाइनेछ ।
मन्त्रालयले प्रशासनिक निरन्तरता कायम राख्दै आवश्यक प्रक्रिया पूरा गरी नयाँ सदस्य चयन गरिने जनाएको छ ।







