काठमाडौँ । नेपाल प्रहरीले उत्कृष्ट कार्यसम्पादनको आधारमा तीन जना नायब महानिरीक्षक (डीआईजी)सहित कुल १०४ जना प्रहरी कर्मचारीलाई एकै पटक पुरस्कृत गरेको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार विभिन्न तहमा कार्यरत प्रहरी कर्मचारीहरूको कार्यक्षमता र उपलब्धिको मूल्यांकन गर्दै उनीहरूलाई प्रोत्साहन स्वरूप पुरस्कार प्रदान गरिएको हो।
पुरस्कृत हुने डिआइजीहरूमा कर्णाली प्रदेशका जयराज सापकोटा, लुम्बिनी प्रदेशका भूपेन्द्र बहादुर खत्री र विश्वराज अधिकारी रहेका छन्। उनीहरूलाई जनही नगद पुरस्कारसहित सम्मान गरिएको केन्द्रीय प्रहरी प्रवक्ता अबि नारायण काफ्लेले जानकारी दिएका छन्।
त्यस्तै, वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) तहका रमेश थापा, नवराज अधिकारी, गोविन्द अधिकारी, शान्तिराज कोइराला र वेद बिष्टलाई पनि नगदसहित पुरस्कृत गरिएको छ।
यसैगरी प्रहरी उपरीक्षक (एसपी) तहका चक्रराज जोशी, दीपक श्रेष्ठ, शरदकुमार थापा क्षेत्री, कुमोद ढुंगेल, अनन्तराम शर्मा, कमला लामा र सूर्यबहादुर थापालाई समेत नगदसहित सम्मान गरिएको जनाइएको छ।






