काठमाडौँ । राजावादी अभियन्ता तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईँले वर्तमान सरकारको कार्यकालप्रति प्रश्न उठाउँदै सरकार दसैँसम्म मात्रै टिक्ने दाबी गरेका छन्।
झापाबाट काठमाडौँ आएका प्रसाईँलाई निषेधित क्षेत्रमा सार्वजनिक अभिव्यक्ति दिन नपाइने भन्दै प्रहरीले नियन्त्रणमा लिएर पछि निवासमै पुर्याएको थियो। त्यसलगत्तै उनले आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै सरकारको भविष्यबारे यस्तो टिप्पणी गरेका हुन्।
प्रसाईँले वर्तमान सरकार जुन प्रक्रियाबाट सत्तामा पुगेको हो, अन्ततः त्यही प्रक्रियाबाट बाहिरिने दाबी गरे।
उनले आफूलाई बदनाम गर्ने उद्देश्यले राज्य पक्षबाट धरपकड र फसाउने प्रयास भइरहेको आरोप लगाउँदै त्यस्ता प्रयास सफल नहुने बताए।
पत्रकार सम्मेलनमा उनले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको नाम उल्लेख गर्दै ‘बालेन सरकार’ले सामाजिक सञ्जालको ‘अल्गोरिदम’ नियन्त्रणमार्फत फासिवादी प्रवृत्ति विकास गर्न खोजेको आरोपसमेत लगाए।
प्रसाईँले वर्तमान राजनीतिक व्यवस्थाप्रति असन्तुष्टि व्यक्त गर्दै यसले नागरिकलाई निराश बनाएको दाबी गरे। आफूहरूको माग केवल नागरिकलाई सम्मानपूर्वक जीविकोपार्जन गर्न सक्ने वातावरण सिर्जना गर्नुपर्ने रहेको उनको भनाइ थियो।







