काठमाडौं । नेकपा एमालेका नेता एवम् पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलसहित १६ जना प्रतिवादीविरुद्ध विशेष अदालतमा पूरक आरोप पत्र दायर गरिएको छ ।
विशेष अदालतले जारी गरेको सूचनाअनुसार यसअघि दर्ता भएको सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा थप अनुसन्धानपछि पौडेलसहित ६ जना व्यक्ति र १० वटा कम्पनीलाई प्रतिवादी कायम गर्दै पूरक आरोप पत्र पेस गरिएको हो।
विभागले प्रतिवादीहरूले गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति लुकाउने तथा छिपाउने कार्य गरी सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ अनुसार कसुर गरेको दाबी गरेको छ।
पूरक आरोप पत्रमा विष्णुप्रसाद पौडेलको हकमा २० करोड ५० लाख रुपैयाँ बिगो कायम गरिएको छ। साथै, उनको एभरेस्ट बैंक लिमिटेडमा रहेको खातामा मौज्दात ६ लाख ३४ हजार ४४१ रुपैयाँ ५४ पैसा जफत गर्न माग दाबी गरिएको विशेष अदालतको सूचनामा उल्लेख छ।
उक्त मुद्दामा दीपक भट्टसहित अन्य व्यक्ति र कम्पनीलाई समेत प्रतिवादी बनाइएको छ। थप अनुसन्धानबाट प्राप्त विवरणका आधारमा कानुनी प्रक्रिया अघि बढाइएको विभागले जनाएको छ।








