काठमाडौँ। सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरमा रहेका विमानस्थललाई पुनः सञ्चालनमा ल्याउने विषयमा सरोकारवाला निकायबीच उच्चस्तरीय छलफल भएको छ। कञ्चनपुरको मझगाउँ विमानस्थल तथा कैलालीको टीकापुर विमानस्थल सञ्चालनका लागि आवश्यक प्रक्रिया अघि बढाउने सम्बन्धमा बैठकमा विस्तृत विचार विमर्श गरिएको हो।
बैठकमा सभामुख डोलप्रसाद अर्याल, कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्कराज पौडेल, कञ्चनपुर क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्रसिंह महता, कैलाली क्षेत्र नं. १ की प्रतिनिधि सभा सदस्य कोमल ज्ञवालीसहित सम्बन्धित मन्त्रालयका सचिव, विभागीय अधिकारी तथा विषय विज्ञहरूको सहभागिता रहेको थियो।
छलफलका क्रममा दुवै विमानस्थललाई सञ्चालनयोग्य बनाउन आवश्यक कानुनी व्यवस्था, प्राविधिक तयारी र प्रशासनिक समन्वयका कामलाई प्राथमिकताका साथ अगाडि बढाउने सहमति भएको छ। सहभागीहरूले विमानस्थल सञ्चालनले क्षेत्रीय आवागमन, पर्यटन प्रवर्द्धन तथा आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने भएकाले आवश्यक पहललाई गति दिनुपर्ने धारणा राखेका थिए।
बैठकमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रको पर्यटन सम्भावना विस्तारसँग सम्बन्धित विषयसमेत उठाइएको थियो। प्रतिनिधिसभा सदस्य जनकसिंह धामीले निकुञ्जअन्तर्गत बरनीखेडा र बेलडाँडी क्षेत्र जोड्ने वन क्षेत्रमा सुरक्षा व्यवस्थापनका लागि पोस्ट स्थापना गर्नुपर्ने आवश्यकता औँल्याएका थिए।
उनले बेलडाँडी क्षेत्रबाट निकुञ्ज अवलोकन तथा भ्रमणका लागि आवश्यक पर्यटन संरचना निर्माण, कालिकीच तालको संरक्षण तथा उक्त क्षेत्रलाई आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न पहल गर्नुपर्ने सुझाव दिएका थिए।
बैठकमा उठेका विषय र सुझावलाई सम्बन्धित निकायमार्फत अध्ययन गरी आवश्यक प्रक्रिया अघि बढाउने प्रतिबद्धता सहभागी पक्षबाट व्यक्त भएको छ। विमानस्थल सञ्चालन तथा पर्यटन पूर्वाधार विकासका कामलाई समन्वयात्मक रूपमा अघि बढाउने विषयमा समेत जोड दिइएको छ।







