काठमाडौँ। नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले निजी शिक्षा तथा स्वास्थ्य क्षेत्रमा लागू गर्ने भनिएको ३ प्रतिशत समता शुल्क तत्काल कार्यान्वयन नगर्ने सरकारको निर्णयलाई स्वागत गरेका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै थापाले उक्त व्यवस्थाप्रति आफूहरूले सुरुदेखि नै प्रश्न उठाउँदै आएको स्मरण गराएका छन्। सरकारको पछिल्लो निर्णयलाई सकारात्मक भन्दै उनले त्यसलाई कार्यान्वयनमा लैजान आवश्यक प्रशासनिक तथा कानुनी प्रक्रिया शीघ्र पूरा गर्न आग्रह गरेका छन्।
थापाले शिक्षा र स्वास्थ्य क्षेत्रसँगै अन्य कर नीतिको पनि पुनरावलोकन आवश्यक रहेको उल्लेख गरेका छन्। विशेष गरी विद्युत्मा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) लगायत नागरिकमाथि अनावश्यक भार पर्ने कर तथा नीतिगत व्यवस्थालाई पनि सरकारले पुनर्विचार गर्नुपर्ने उनको धारणा छ।
सरकारले आम नागरिकको आवश्यकता र जनभावनालाई केन्द्रमा राखेर कर तथा नीतिगत निर्णयहरू परिमार्जन गर्नुपर्नेमा थापाले जोड दिएका छन्।







