काठमाडौँ । महिला, बालबालिका, लैंगीक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले सिंहदरबारस्थित दिवा शिशु केन्द्रको स्थलगत निरीक्षण गरेकी छन्।
केन्द्रको वर्तमान अवस्था, सेवा व्यवस्थापन, बालबालिकाका लागि उपलब्ध सुविधा तथा भौतिक संरचनाको अवस्थाबारे जानकारी लिन मन्त्री बादीले अनुगमन गरेकी हुन्। अनुगमनमा महिला, बालबालिका, लैंगीक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयका अधिकारीहरूका साथै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका उपसचिवको समेत सहभागिता रहेको थियो।
स्थलगत निरीक्षणका क्रममा केन्द्र परिसरमा रहेको पुरानो भवनको अवस्थाबारे समेत अध्ययन गरिएको थियो। उक्त भवनको संरचनागत अवस्था, सम्भावित उपयोगिता र दिवा शिशु केन्द्रका लागि प्रयोग गर्न सकिने आधारबारे प्राविधिक मूल्यांकन गर्ने विषयमा छलफल भएको छ।
अनुगमनका क्रममा पुरानो संरचनालाई आवश्यक मर्मत तथा सुधार गरी प्रयोगमा ल्याउने वा केन्द्रको आवश्यकता र दीर्घकालीन योजनाअनुसार नयाँ ढाँचामा पुनर्संरचना गर्ने विकल्पबारे अध्ययन गरी प्रक्रिया अघि बढाउने सहमति भएको जनाइएको छ।
मन्त्री बादीले प्रारम्भिक बाल स्याहार तथा संरक्षणका लागि सुरक्षित, व्यवस्थित र बालमैत्री वातावरण आवश्यक रहेको बताइन्। उनले बालबालिकाको सर्वोत्तम हितलाई केन्द्रमा राख्दै दिवा शिशु केन्द्रको सेवा प्रभावकारी बनाउने, पूर्वाधार सुधार गर्ने तथा आवश्यकताअनुसार सेवा विस्तारका लागि योजना अघि बढाउनुपर्नेमा जोड दिइन्।
अनुगमनपछि केन्द्रको भौतिक सुधार र पुनर्संरचनासम्बन्धी कामलाई अघि बढाउन सम्बन्धित निकायबीच समन्वय, प्राविधिक अध्ययन र आवश्यक तयारी गर्ने प्रक्रिया अगाडि बढाइने भएको छ।







