काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको स्थायी आवासीय अनुमति (पीआर) लिएर कार्यालयमा अनुपस्थित रहेका एक नापी अधिकृतसँग स्पष्टीकरण माग गरेको छ।
मन्त्रालयले बुधबार सूचना प्रकाशित गर्दै नापी विभागअन्तर्गत कार्यरत नापी अधिकृत आभाष जोशीलाई ३० दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको हो।
सूचनाअनुसार जोशीले बिदा स्वीकृत नगराई आफू पदस्थापन रहेको कार्यालयमा अनुपस्थित रही विदेशी मुलुकको स्थायी आवासीय अनुमति लिएको तथा निजामती सेवा ऐन, २०४९ र निजामती सेवा नियमावली, २०५० को व्यवस्था विपरीत कार्य गरेको आरोप लगाइएको छ।
मन्त्रालयले यसअघि प्रकाशित सूचनाको म्यादभित्र स्पष्टीकरण पेश नगरेकाले पुनः सात दिनको समय दिँदै स्पष्टीकरण पेश गर्न आग्रह गरेको हो। तोकिएको अवधिभित्र चित्तबुझ्दो स्पष्टीकरण पेश नगरे प्रचलित कानुनबमोजिम विभागीय कारबाही प्रक्रिया अघि बढाइने मन्त्रालयले जनाएको छ।







