काठमाडौं । काठमाडौँको नाग पोखरीबाट प्रहरीले ३२९.०५ ग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ, विभिन्न प्रकारका लागुऔषध तथा नगदसहित चार जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार साउन १८ गते अपराह्न करिब ३ बजे काठमाडौँ महानगरपालिका–१ नागपोखरीस्थित प्रभात तिवारीको घरमा लागुऔषधको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी वृत्त मालिगाउँबाट खटिएको टोलीले छापा मारेको थियो।
उक्त क्रममा घरको कोठा तथा बा ७ च ५१८० नम्बरको सवारीसाधनमा गरिएको चेकजाँचका क्रममा ३२९.०५ ग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ, २२१ क्याप्सुल ट्रामाडोल, १०० ट्याब्लेट नाइट्राजेपाम, नगद १ लाख ९८ हजार ३२५ रुपैयाँ, तीन थान ल्यापटप, एक थान तराजु, एक थान सञ्चार सेट, एक थान एल्युमिनियम पेपर रोल र चार थान मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ।
घटनामा संलग्न रहेको आरोपमा काठमाडौं महानगरपालिका-१ नागपोखरीका ४३ वर्षीय प्रभात तिवारी, ललितपुर महानगरपालिका-४ का ५१ वर्षीय सलिन श्रेष्ठ, काठमाडौं महानगरपालिका-१४ बल्खुका ५१ वर्षीय भुपेन्द्र श्रेष्ठ तथा सर्लाहीको बरहथवा नगरपालिका-६ घर भई हाल काठमाडौं महानगरपालिका–१२ बस्ने ४० वर्षीय सुजन रायमाझीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका चारै जनाविरुद्ध लागुऔषध सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






