काठमाडौँ । देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ। आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको तुलनामा अपराध ४.३५ प्रतिशतले वृद्धि भएको नेपाल प्रहरीले जनाएको छ।
प्रहरी प्रधान कार्यालयले शुक्रबार सार्वजनिक गरेको तथ्यांक अनुसार आर्थिक वर्ष २०८२/८३ मा देशभरका प्रहरी कार्यालयमा ६१ हजार १६ मुद्दा दर्ता भएका छन्।
अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा ५८ हजार ४७२ मुद्दा दर्ता भएका थिए। यस आधारमा एक वर्षमा दर्ता भएका मुद्दाको संख्या दुई हजार ५४४ ले बढेको छ।
प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) अबिनारायण काफ्लेले अघिल्लो वर्षको तुलनामा अपराध ४.३५ प्रतिशतले वृद्धि भएको जानकारी दिएका हुन्।
प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष २०७९/८० मा देशभर ५६ हजार ३२३ मुद्दा दर्ता भएका थिए। आर्थिक वर्ष २०८०/८१ मा उक्त संख्या बढेर ५९ हजार २०३ पुगेको थियो।
आर्थिक वर्ष २०८१/८२ मा भने मुद्दा संख्या केही घटेर ५८ हजार ४७२ मा झरेको थियो। पछिल्लो आर्थिक वर्ष २०८२/८३ मा पुनः बढेर ६१ हजार १६ पुगेको हो।
यसरी चार आर्थिक वर्षको तथ्यांक हेर्दा बीचमा केही कमी देखिए पनि समग्रमा प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढ्दो क्रममा देखिएको छ।
प्रहरीका अनुसार पछिल्लो समय परम्परागत अपराधसँगै प्रविधि र वित्तीय कारोबारसँग जोडिएका अपराध बढेका छन्।
विशेष गरी साइबर अपराध, बैंकिङ कसुर, अनलाइन ठगी तथा वैदेशिक रोजगारीका नाममा हुने ठगीका घटनामा वृद्धि देखिएको प्रहरीले जनाएको छ।
डिजिटल प्रविधि र अनलाइन वित्तीय कारोबारको प्रयोग विस्तारसँगै अपराधको स्वरूपसमेत परिवर्तन हुँदै गएको प्रहरीको तथ्यांकले देखाएको छ।






