काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट बाहिरिने घोषणा गरेका छन्। बिहीबार प्रदेशसभामा सम्बोधन गर्दै उनले मुख्यमन्त्रीको जिम्मेवारीबाट राजीनामा दिने जानकारी गराएका हुन्।
शाहले आफ्नो राजीनामासम्बन्धी पत्र प्रदेश प्रमुख नजिर मियाँसमक्ष बुझाउने बताएका छन्। प्रदेशसभामा उनले त्यसबारे औपचारिक जानकारी गराएका हुन्।
बजेटसम्बन्धी विषयमा असहमति जनाउँदै नेकपा एमालेले गत असार ३१ गते प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि शाह नेतृत्वको सरकार अल्पमतमा परेको थियो।
संवैधानिक व्यवस्थाअनुसार समर्थन फिर्ता लिएको दलको निर्णयपछि मुख्यमन्त्रीले निर्धारित समयभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने वा पदबाट हट्नुपर्ने अवस्था थियो। सो समयसीमा पूरा हुने दिन शाहले राजीनामाको घोषणा गरेका हुन्।
मुख्यमन्त्रीको पद रिक्त भएपछि अब प्रदेश प्रमुखले संविधानअनुसार नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउनेछन्। प्रदेशसभामा नयाँ सरकार गठनका लागि आवश्यक राजनीतिक समीकरण निर्माण गर्न दलहरूबीच छलफल अघि बढ्ने देखिएको छ।






