काठमाडौँ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले देशका विभिन्न भागमा अविरल वर्षापछिको विपदबाट प्रभावितको खोज, उद्धार, राहत तथा पुन:स्थापनालाई व्यवस्थित र समन्वयात्मक रूपमा अघि बढाउन सम्बद्ध सबै पक्षको ध्यानाकर्षण गराएकी छिन् ।
पूर्व राष्ट्रपति भण्डारीले आज सामाजिक सञ्जालमार्फत जोखिममा रहेका बस्ती तथा परिवारको पहिचान गरी आवश्यकताअनुसार सुरक्षित स्थानमा स्थानान्तरण गर्न र विपद्पछिको पुनर्निर्माण तथा पुन:स्थापनालाई प्राथमिकता दिन आग्रह गरेकी छिन् ।
उनले हालैका दिनमा रोल्पा, बाजुरा, जाजरकोट, कास्की, पर्वतलगायत जिल्लामा अविरल वर्षासँगै आएको बाढी, पहिरो तथा डुबानका कारण ठूलो जनधनको क्षति भएकामा दुःख व्यक्त गरेकी छिन् । उनले मृतकप्रति श्रद्धाञ्जली, परिवारजनमा समवेदना र घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेकी छिन् ।
बाढी, पहिरो, डुबान तथा नदी कटानको जोखिम कायमै रहेको उल्लेख गर्दै पूर्व राष्ट्रपति भण्डारीले बदलिँदो जलवायु र मौसमजन्य जोखिमलाई ध्यानमा राखी पूर्व तयारी र जोखिम न्यूनीकरणका उपायलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिएकी छिन् ।
मौसम तथा विपद्सम्बन्धी सूचना र पूर्व सूचनाप्रति चनाखो रहन, जोखिमयुक्त स्थानमा अनावश्यक आवतजावत नगर्न, नदी तथा खोलानालाको किनारबाट टाढा रहन र सम्भावित जोखिमबाट आफू, आफ्नो परिवार तथा समुदायलाई सुरक्षित राख्न आवश्यक पूर्व तयारी गर्न उनले आम नागरिकमा आह्वान गरेकी छिन् ।
“प्राकृतिक विपद् पूर्णतः रोक्न नसकिए पनि समयमै गरिएको पूर्व तयारी, सही सूचना, सतर्कता र प्रभावकारी उद्धार तथा राहत व्यवस्थापनबाट यसको मानवीय क्षति धेरै हदसम्म न्यूनीकरण गर्न सकिन्छ । यसका लागि सरकार, स्थानीय तह, सुरक्षा निकाय, नागरिक समाज र आम नागरिक सबैको सहकार्य आवश्यक छ”, पूर्व राष्ट्रपतिले भनिन् ।






