काठमाडौं । उच्चपदस्थ व्यक्तिहरूसँग आफ्नो सम्पर्क र पहुँच रहेको दाबी गर्दै कारागारमा रहेका व्यक्तिका आफन्तलाई मुद्दा मिलाइदिने तथा थुनाबाट छुटाइदिने भन्दै प्रभावमा पार्ने आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।
प्रहरीका अनुसार गोरखाको बारपाक सुलिकोट गाउँपालिका–१ घर भई हाल ललितपुर बस्दै आएका ५४ वर्षीय जितबहादुर घलेलाई नियन्त्रणमा लिइएको हो ।
घलेले कारागारमा थुनामा रहेका व्यक्तिका परिवार तथा आफन्तजनलाई उच्चपदस्थ व्यक्तिहरूसँग आफ्नो सम्बन्ध रहेको भन्दै उनीहरूको मुद्दामा हस्तक्षेप गरी छुटाउन सक्ने आश्वासन दिने गरेको प्रारम्भिक विवरणमा उल्लेख छ । यस क्रममा सम्बन्धित व्यक्तिहरूलाई अनुचित प्रभावमा पार्ने तथा दुःख–हैरानी दिने कार्य गरेको आरोप छ ।
घलेविरुद्ध अभद्र व्यवहार गर्न नहुने कसुरमा अनुसन्धान अघि बढाइएको छ । अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौँमार्फत म्याद थप गरिएको छ ।
घटनाबारे थप अनुसन्धान जारी रहेको र अनुसन्धानबाट प्राप्त तथ्यका आधारमा कानुनी प्रक्रिया अघि बढाइने बताइएको छ ।






