काठमाडौँ । बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया टुंगिँदै नेकपा एमालेका नेता किरण थापा मुख्यमन्त्रीमा नियुक्त भएका छन्।
प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नेपालको संविधानको धारा १६८ को उपधारा (२) अनुसार थापालाई मुख्यमन्त्रीको जिम्मेवारी दिएका हुन्। थापाले प्रदेशसभामा बहुमत जुटाउन नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेताको समर्थन प्रस्तुत गरेका थिए।
तीन दलका ६३ प्रदेशसभा सदस्यको समर्थनसहित थापाले बुधबार मुख्यमन्त्री पदका लागि प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेका थिए।
यसअघि प्रदेश प्रमुख देवकोटाले संविधानको उक्त व्यवस्थाअनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा प्रदेशसभामा बहुमत कायम गर्न सक्ने सदस्यलाई मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्न आह्वान गरेका थिए। त्यसका लागि ४ भदौ बिहीबार अपराह्न ४ बजेसम्मको समय तोकिएको थियो।
बहुमत समर्थनसहित दाबी पेस भएपछि प्रदेश प्रमुखले थापालाई मुख्यमन्त्री नियुक्त गरेका हुन्। तीन दलबीचको सहकार्यबाट बागमती प्रदेशमा नयाँ सत्ता समीकरण बनेको छ।






