काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गर्न स्थानीय तथा जिल्ला तहबाट सम्पादन हुनुपर्ने कामलाई प्राथमिकता दिन आग्रह गरेकी छन्।
सुदूरपश्चिम भ्रमणमा रहेकी मन्त्री रावलले कैलाली र कञ्चनपुरका विभिन्न स्थानीय तहमा पुगेर भूमिसम्बन्धी समस्या समाधानको अवस्था, नापजाँच तथा लालपुर्जा वितरण प्रक्रियाबारे जनप्रतिनिधि र सम्बन्धित निकायका पदाधिकारीसँग छलफल गरेकी हुन्।
कैलालीका धनगढी उपमहानगरपालिका, कैलारी गाउँपालिका तथा भजनी, टीकापुर, लम्कीचुहा, बर्दगोरिया, घोडाघोडी र गौरीगंगा नगरपालिकालगायत स्थानीय तहमा पुगेर उनले नापजाँच र लालपुर्जा वितरणको काम तीव्र बनाउन आग्रह गरेकी छन्।
त्यस्तै, कञ्चनपुरका दोधारा–चाँदनी, भीमदत्त, बेदकोट, शुक्लाफाँटा र कृष्णपुरलगायत पालिकामा उनले भूमिहीन नागरिकसँग भेटघाट तथा अन्तरक्रिया गरेकी छन्। त्यस क्रममा नागरिकले भोगिरहेका कानुनी तथा प्रक्रियागत जटिलता र लालपुर्जा प्राप्तिको अवस्थाबारे जानकारी लिएको बताइएको छ।
मन्त्री रावलले भूमिहीन सुकुम्वासीलाई लालपुर्जा उपलब्ध गराउने बाटो खुलिसकेको र आवश्यक कानुनी सुधारसमेत अघि बढाइएको बताइन्। उनले नागरिकलाई नआत्तिन तथा अफवाहको पछि नलाग्न आग्रह गर्दै वास्तविक भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासी प्रक्रियाबाट छुट्न नहुने बताइन्।
भूमिसम्बन्धी समस्या समाधानका लागि संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय आवश्यक रहेको उनको भनाइ छ। कुनै एक तहको असहयोगले पूरै पालिकाको लालपुर्जा वितरण प्रभावित हुन सक्ने उल्लेख गर्दै उनले नागरिकका समस्या समाधानमा तीनै तहका सरकारलाई साझा रूपमा अघि बढ्न आग्रह गरिन्।
भ्रमणका क्रममा मन्त्री रावलले सहकारीमा जम्मा गरेको बचत फिर्ता नपाएका पीडितका गुनासासमेत सुनेकी छन्। सरकारले सहकारीपीडितको बचत फिर्तासम्बन्धी प्रक्रियालाई प्राथमिकताका साथ अघि बढाएको उल्लेख गर्दै उनले कैलालीमा रकम फिर्ताको काम सुरु भइसकेको जानकारी दिइन्।
कञ्चनपुरका आरक्षपीडितसँग पनि भेट गरेकी मन्त्री रावलले लामो समयदेखि समाधान हुन नसकेको उनीहरूको समस्या सरकारको प्राथमिकतामा रहेको बताइन्। भ्रमणका क्रममा उनले स्थानीय नागरिकसँग संवाद गर्नुका साथै स्थलगत अवस्थाबारे जानकारी लिँदै सम्बन्धित निकायलाई कामको गति बढाउन आग्रह गरेकी छन्।






