काठमाडौँ । बाढी र पहिरोका कारण विद्युत संरचनामा क्षति पुगेपछि अवरुद्ध भएका क्षेत्रमा नेपाल विद्युत प्राधिकरणले वैकल्पिक प्रसारण तथा वितरण व्यवस्थामार्फत सेवा पुनः सञ्चालनलाई प्राथमिकताका साथ अघि बढाएको छ।
प्राधिकरणका सदस्य अंशुकिरण शाहीका अनुसार क्षतिग्रस्त संरचना तत्काल प्रयोग गर्न नसकिने अवस्थामा अन्य उपलब्ध संरचनाबाट विद्युत आपूर्ति जोड्ने काम भइरहेको छ। यही क्रममा नुवाकोटका विभिन्न क्षेत्रमा वैकल्पिक लाइनमार्फत विद्युत सेवा पुन:स्थापित गरिएको छ।
खरानीटार, समुद्रटार, चौघडा, लिखु र पञ्चकन्यामा सिन्धुपाल्चोकतर्फबाट वैकल्पिक लाइन विस्तार गरी विद्युत आपूर्ति सञ्चालनमा ल्याइएको प्राधिकरणले जनाएको छ। बालाजु र त्रिशूलीतर्फ रहेको ६६ केभी प्रसारण संरचनाबाट ११ केभी लाइनमार्फत आपूर्ति विस्तार गरी नुवाकोटका बाँकी क्षेत्रमा पनि सोही दिन अपराह्नसम्म विद्युत पुर्याउने लक्ष्य प्राधिकरणले राखेको छ।
धादिङतर्फ पनि विद्युत पुन:स्थापनाको काम अघि बढेको छ। धादिङबेँसी-रातामाटे ३३ केभी प्रसारण लाइन मर्मतपछि सञ्चालनमा आएपछि मलेखु, गजुरी र मुग्लिङसहित पृथ्वी राजमार्ग आसपासका क्षेत्रमा विद्युत सेवा फर्किएको प्राधिकरणले जनाएको छ।
रसुवामा भने बाढी तथा पहिरोबाट भएको क्षतिको यकिन विवरण संकलन भइरहेको छ। प्राधिकरणले गृह मन्त्रालय र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँग समन्वय गरी करिब एक साताभित्र जिल्लामा विद्युत सेवा पुन:स्थापना गर्ने योजना बनाएको छ। तर, उद्धार तथा मानवीय सहायताको कामलाई अहिले पहिलो प्राथमिकतामा राखिएको प्राधिकरणको भनाइ छ।
यसैबीच त्रिशूली-३ ‘ए’ लगायत जलविद्युत आयोजनामा सम्पर्कविहीन रहेका कर्मचारी तथा प्रभावित स्थानीयवासीको उद्धारका लागि नेपाली सेनासँग सहकार्य भइरहेको छ। विद्युत पूर्वाधार र आयोजनाको अवस्थाबारे स्थलगत अनुगमन गर्न प्राधिकरणका कार्यकारी निर्देशक, उपकार्यकारी निर्देशकसहितको उच्चस्तरीय टोली नुवाकोटमा परिचालित रहेको जनाइएको छ।
प्राधिकरणले क्षतिको अवस्था मूल्यांकनसँगै सम्भव स्थानमा वैकल्पिक संरचना प्रयोग गर्ने र प्राथमिकताका आधारमा विद्युत सेवा क्रमशः पुन:स्थापित गर्दै जाने जनाएको छ।






