काठमाडौँ । रसुवामा आएको बाढीबाट प्रभावितहरूको उद्धारका क्रममा नेपाली सेनाले शुक्रबार दिउँसो १२:२० बजेसम्म १७ विदेशी नागरिकसहित ४४९ जनाको हवाई उद्धार गरेको छ।
सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार नेपाली सेनाका हेलिकप्टरमार्फत टिमुरे, स्याफ्रुवेशी र मैलुङलगायत क्षेत्रबाट उनीहरूको उद्धार गरिएको हो।
साढे चार हजारभन्दा बढी सैनिक परिचालित
बाढी प्रभावित जिल्लाहरूमा खोज, उद्धार, आपत्कालीन उपचार तथा राहत वितरणका लागि नेपाली सेनाका करिब ४ हजार ५ सयभन्दा बढी सैनिक परिचालित छन्।
सेनाका अनुसार परिचालित जनशक्तिले अन्य निकायसँग समन्वय गरी घाइतेहरूको खोज तथा उद्धार गरिरहेको छ। साथै, प्रभावित क्षेत्रमा आपत्कालीन उपचार र राहत सामग्री वितरणको कामसमेत भइरहेको छ।
बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतसम्बन्धी कार्यलाई समन्वयात्मक रूपमा निरन्तरता दिइएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।






