काठमाडौँ । रसुवाको भोटेकोशी-त्रिशूली क्षेत्रमा आएको बाढीबाट भएको क्षतिपछि नेपाल प्रहरीका कर्मचारीको तलबबाट ४३ करोड ३७ लाख ६१ हजार ७७९ रुपैयाँ संकलन गरिएको छ।
प्रहरी महानिरीक्षकदेखि प्रहरी कार्यालय सहयोगीसम्मका ७६ हजार ८५५ प्रहरी कर्मचारीले दर्जाअनुसार दुईदेखि १५ दिनसम्मको तलब योगदान गरेका हुन्। संकलित रकममध्ये ४० करोड रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गर्ने निर्णय गरिएको छ।
नेपाल प्रहरीको हालको ७९ हजार ५३२ दरबन्दीमध्ये दुई हजार १०२ पद रिक्त छन्। कार्यरत ७७ हजार ४३० कर्मचारीमध्ये संयुक्त राष्ट्रसंघीय मिसन, पर्यटक प्रहरी, राष्ट्रिय सुरक्षा परिषद् र बाढी प्रभावित क्षेत्रमा कार्यरत ५७५ जनाबाहेक बाँकी कर्मचारीबाट सहयोग रकम संकलन गरिएको निर्णयमा उल्लेख छ।
दर्जाअनुसार दुईदेखि १५ दिनको तलब
निर्णयअनुसार प्रहरी महानिरीक्षक र प्रहरी अतिरिक्त महानिरीक्षकले १५ दिनको तलब योगदान गरेका छन्। प्रहरी नायब महानिरीक्षक र प्रहरी वरिष्ठ उपरीक्षकले १५ दिन तथा प्रहरी उपरीक्षकदेखि प्रहरी निरीक्षकसम्मले १२ दिनको तलब उपलब्ध गराएका छन्।
प्रहरी वरिष्ठ नायब निरीक्षकदेखि प्रहरी जवानसम्मका कर्मचारीले पाँचदेखि आठ दिनसम्मको तलब योगदान गरेका छन्। फलोअर्सतर्फका कर्मचारीले दुई दिनको तलब सहयोग गरेका छन्।
यसरी संकलित कुल रकममध्ये प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४० करोड रुपैयाँ प्रदान गरेपछि बाँकी रहने तीन करोड ३७ लाख ६१ हजार ७७९ रुपैयाँ नेपाल प्रहरी कल्याण कोषको खातामा जम्मा गरिने भएको छ।
उक्त रकम प्रहरी कल्याण महासाखामार्फत राहतस्वरूप वितरण तथा व्यवस्थापन गर्ने निर्णय गरिएको छ। प्रहरी नीति निर्माण समितिको २०८३ भदौ १५ गतेको निर्णयअनुसार उक्त सहयोग व्यवस्थापन गर्न लागिएको हो।







