काठमाडौँ । नेपाली सेनाले विभिन्न प्रभावित क्षेत्रबाट हवाई साधनमार्फत हालसम्म चार हजार १७७ जनाको उद्धार गरेको जनाएको छ। उद्धार गरिएकामध्ये तीन हजार ८९४ जना स्वदेशी र २८३ जना विदेशी नागरिक छन्।
नेपाली सेनाले भदौ ३१ गते साँझ ६:३० बजेसम्मको खोज तथा उद्धारसम्बन्धी विवरण सार्वजनिक गर्दै टनेल, बाढी प्रभावित बस्ती र अवरुद्ध सडक क्षेत्रमा खोज, उद्धार तथा राहतका काम जारी रहेको जनाएको हो।
चिलिमेको टनेलमा चार शव र एक मानव अंग
सेनाका अनुसार लाङटाङ जलविद्युत् आयोजनाको टनेलभित्र विदेशी प्राविधिकसहितको संयुक्त उद्धार टोलीले खोजी गरेको छ।
चिलिमे हाइड्रोमा गोताखोरसहितको संयुक्त उद्धार टोलीले टनेलको ‘ब्रेकथ्रु’ गरी अन्तिम किनारासम्म खोजी गर्दा चारवटा शव र एक मानव अंग फेला पारेको छ। फेला परेका शव तथा मानव अंग नेपाली सेनाको हेलिकप्टरमार्फत त्रिशूली ल्याइएको छ।
यसअघि भदौ १५ गते पनि उक्त टनेलबाट एक शव र एक मानव अंग फेला परेको सेनाले जनाएको छ।
माथिल्लो त्रिशूली-१ को टनेलभित्र आयोजनाका प्रतिनिधिसहितको संयुक्त उद्धार टोलीले खोजी गरिरहेको छ। त्रिशूली-३ ‘ए’ को टनेल र पावरहाउस क्षेत्रमा पनि संयुक्त टोलीबाट खोजी भइरहेको छ।
त्रिशूली-३ ‘बी’ मा नेपाली सेनासहितको संयुक्त टोलीले एक्स्काभेटर र लोडर प्रयोग गरेर खोजी गर्ने क्रममा आयोजनाको आवास क्षेत्रमा दुईवटा आवास भवनको प्लिन्थ क्षेत्रबाहेक अन्य संरचना फेला नपरेको सेनाले जनाएको छ। उक्त क्षेत्रमा खोजी जारी छ।
आठ हजार ९०० भन्दा बढी सैनिक परिचालित
नेपाली सेनाले रसुवा र नुवाकोटका त्रिशूलीपारि कोलोनी, तुप्चे, दानसिङ, सामरी भञ्ज्याङ, कालिकास्थान र मान्चेतलगायत स्थानमा आधार स्थापना गरी पैदल गस्तीमार्फत खोजी गरिरहेको जनाएको छ।
स्याफ्रुबेँसी क्षेत्रमा तीनवटा समूहले खोजी गरिरहेका छन्। साँघुरा टनेलको रेकी, प्रभावित क्षेत्रको खोज तथा मूल्याङ्कन र सडक सम्पर्कबाट विच्छेद भएका दुर्गम स्थानमा ड्रोनमार्फत राहत सामग्री ढुवानी गरिएको छ।
रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वसम्मका प्रभावित क्षेत्रमा नेपाली सेनाका आठ हजार ९०० भन्दा बढी सैनिक प्रत्यक्ष रूपमा परिचालित छन्।
उनीहरूले समन्वयात्मक रूपमा घाइतेको खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, राहत सामग्री ढुवानी, अवरुद्ध सडक तथा पुल सञ्चालन र आपत्कालीन उपचारको काम गरिरहेको सेनाले जनाएको छ।
तीन हजार ९३४ जनालाई स्वास्थ्य सेवा
नेपाली सेनाले त्रिशूली र धुन्चेमा स्थापना गरेका आपत्कालीन उपचार केन्द्र तथा मेडिकल पेट्रोलबाट बुधबार ४५ जनाले स्वास्थ्य सेवा प्राप्त गरेका छन्। ती केन्द्र र मेडिकल पेट्रोलबाट हालसम्म तीन हजार ९३४ जनाले सेवा प्राप्त गरेको सेनाले जनाएको छ।
बाढीका कारण भासिएर अवरुद्ध भएको पृथ्वी राजमार्गअन्तर्गत धादिङको रोराङ गाउँपालिका-३ स्थित शीतलबजारको सडक खुलाउन भित्तातर्फको कडा चट्टान फुटाउने काम भइरहेको छ। त्यसका लागि ब्लास्टिङ भइरहेको सेनाले जनाएको छ।
त्यस्तै, चिलिमे क्षेत्रमा विद्युत् प्रवाहका लागि तार बिछ्याउने काम पनि गरिएको नेपाली सेनाले जानकारी दिएको छ।






