सप्तरी । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले जिल्लाको राजविराज नगरपालिका–१५ देउरी भरुवामा निर्माणाधीन पाँच वर्षदेखि अलपत्र शीत भण्डारको आज अवलोकन तथा निरीक्षण गरेका छन् ।
शीत भण्डारको अनुगमन गर्दै मन्त्री यादवले अधुरो र जीर्ण अवस्थामा रहेको शीत भण्डार अविलम्ब सञ्चालनमा ल्याउनका लागि तत्काल पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । यसका लागि आवश्यक थप बजेट कृषि मन्त्रालयमा छुट्याएको जानकारी दिँदै शीत भण्डारको अधुरो काम सञ्चालनका लागि अहिलेसम्मको प्रतिवेदन बुझाएर काम अगाडि बढाउन सम्बन्धित पक्षलाई उनले निर्देशन दिए ।
लामो समयदेखि शीत भण्डार अधुरो भएर अलपत्र परेकाले यसलाई छिटोभन्दा छिटो सम्पन्न गरी किसान तथा स्थानीय जनताका हितमा कसरी सञ्चालनमा ल्याउन सकिन्छ भन्नेमा ध्यान दिन उनले सुझाव दिए । तीन हजार मेट्रिकटन क्षमता भएको निर्माणाधीन शीत भण्डारको फलाममा खिया लागेर बिग्रिने अवस्थामा पुगेको तर सञ्चालनमा आउन नसकेको भन्दै स्थानीयवासीले मन्त्रीसमक्ष गुनासो गरेका थिए ।
तत्कालीन मधेस प्रदेश सरकारले आठ वटै जिल्लामा एकरएक शीत भण्डार निर्माण गर्ने योजनाअनुसार हनुमान नगर सडक खण्डसँग जोडिएको राजविराज नगरपालिका–१५ मा नगरपालिकाले एक बिघा जग्गा उपलब्ध गराएर निर्माण गर्न थालिएको शीत भण्डारको काम रोकिएर अधुरो भएपछि अहिलेसम्म सञ्चालन हुन नसकेको स्थानीयको भनाइ छ ।
विसं २०७४–७५ मा मधेस सरकारले गरेको टेन्डरअनुसार शीत भण्डार निर्माणका लागि २५ करोड ४४ लाख ४३ हजार ९५९ रुपैयाँमा शर्मा आशिष जेभी प्रालीले ठेक्का लिएको थियो । विसं २०७५ पुस १९ गते सम्झौता भएको यो योजनाको २०७५ साल फागुन २ गते जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र तत्कालीन भूमि व्यवस्था तथा कृषि मन्त्री शैलेन्द्रप्रसाद साहले शिलान्यास गरेर निर्माण थालिएको थियो ।






