काठमाडौँ । भारी वर्षाको जोखिमपछि सुनसरीको इटहरी उपमहानगरपालिका र मोरङको विराटनगर महानगरपालिकाले आफ्ना क्षेत्रभित्रका विद्यालयहरूमा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेका छन्।
जल तथा मौसम पूर्वानुमान महाशाखाले भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन सूचना जारी गरेपछि सम्भावित जोखिमलाई ध्यानमा राख्दै बिदा दिने निर्णय गरिएको हो।
विराटनगर महानगरपालिकाले असोज ८ र ९ गते दुई दिनका लागि पठनपाठन बन्द गर्ने निर्णय गरेको छ। महानगरको शिक्षा महाशाखा प्रमुख रामप्रसाद ढुंगेलका अनुसार विद्यार्थीको सुरक्षालाई मध्यनजर गर्दै विद्यालय बन्द गरिएको हो।
यसैगरी इटहरी उपमहानगरपालिकाले पनि दुई दिन विद्यालयमा छुट्टी गरेको छ । गएरातिबाट पानी पर्न थालेपछि विद्यालयमा बिदा गर्ने निर्णय भएको इटहरी उपमहानगरले जनाएको छ ।







