काठमाडौँ । नेपाली काँग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा संस्थापन र इतर पक्षबीच नेतृत्व हस्तान्तरण तथा अधिवेशनको प्रक्रियालाई लिएर विवाद थप चर्किएको छ।
काँग्रेस इतर पक्षका नेता डा. प्रकाशशरण महतले पूर्वसभापति शेरबहादुर देउवाले संस्थापन पक्षले आयोजना गरेको महाधिवेशन उद्घाटन गर्ने सम्भावना नरहेको बताएका छन्।
सभापति गगन थापासहित संस्थापन पक्षका नेताहरूले सहमतिको वातावरण बनाउन देउवालाई महाधिवेशन उद्घाटनका लागि आमन्त्रण गर्ने प्रयास भइरहेको बताइरहेका बेला महतले त्यसको खण्डन गरेका हुन्।
पोखरामा आयोजित कार्यक्रममा महतले देउवा नै महाधिवेशन उद्घाटनमा सहभागी हुने भन्दै प्रचार भइरहेकोप्रति आपत्ति जनाउँदै त्यसलाई असत्य दाबीका रूपमा प्रस्तुत गरे।
उनका अनुसार देउवाले १४औँ महाधिवेशनबाट निर्वाचित सभापतिको हैसियतमा १५औँ महाधिवेशन सम्पन्न गरेर नेतृत्व हस्तान्तरण गर्ने धारणा स्पष्ट रूपमा राखिसकेका छन्। महतले अब सुरु हुने वडा अधिवेशनलाई नै काँग्रेसको आधिकारिक महाधिवेशन प्रक्रियाको सुरुवातका रूपमा लिनुपर्ने जिकिर गरे।
निष्पक्ष अधिवेशनको माग
महतले १५औँ महाधिवेशनलाई सहमतिको आधारमा अघि बढाउन आफूहरूले निष्पक्ष र पारदर्शी अधिवेशनको सुनिश्चितता खोजेको बताए। सबै पक्षको सम्मानजनक सहभागिता सुनिश्चित हुनुपर्ने माग राख्दा सभापति थापाले त्यसलाई गम्भीरतापूर्वक नलिएको उनको आरोप छ।
उनका अनुसार अधिवेशनबाट निर्वाचित हुने नेतृत्वप्रति सबै पक्षको विश्वास कायम हुने गरी प्रक्रिया अघि बढाउनुपर्ने पक्षमा आफूहरू रहेको भए पनि त्यसअनुसार वातावरण बन्न नसकेपछि अदालतको बाटो रोज्नुपरेको हो।
महतले आफूहरूको कानुनी कदम कुनै व्यक्तिगत स्वार्थका लागि नभई काँग्रेसको आगामी नेतृत्व चयन प्रक्रिया निष्पक्ष बनाउनका लागि भएको दाबी गरे।
अदालतबाट न्याय पाउने विश्वास
काँग्रेसको महाधिवेशन प्रक्रिया र त्यससँग सम्बन्धित विवाद अदालतसम्म पुगेको विषयमा महतले यसअघिको फैसलामा त्रुटि रहेको दाबी गरे। सर्वोच्च अदालतले आफूहरूको पुनरावेदनमा निस्सा दिएको घटनालाई पनि उनले अघिल्लो निर्णयमा पुनरावलोकन आवश्यक रहेको संकेतका रूपमा व्याख्या गरे।
आफूहरू सत्यको पक्षमा उभिएको दाबी गर्दै महतले अदालतबाट न्याय पाउने विश्वास व्यक्त गरे।काँग्रेसको महाधिवेशन प्रक्रिया अघि बढिरहेका बेला नेतृत्व हस्तान्तरण, अधिवेशनको वैधानिकता र सबै पक्षको सहभागितालाई लिएर संस्थापन र इतर पक्षबीच देखिएको मतभेदले पार्टीभित्रको विवादलाई थप सतहमा ल्याएको छ।



