काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले भदौ १० यताका विपद्को व्यवस्थापनमा उपलब्ध स्रोत, साधन र जनशक्ति परिचालन गरिएको भन्दै प्रदेश सरकारहरूलाई यस विषयमा ढुक्क हुन आग्रह गरेका छन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को २१औँ बैठकमा प्रधानमन्त्री शाहले संघ, प्रदेश र स्थानीय तहबीचको समन्वयमा विपद् व्यवस्थापनका काम निरन्तर भइरहेको बताएका हुन्।
बैठकमा गण्डकी, बागमती, मधेश र कोशी प्रदेशका मुख्यमन्त्रीसमेत सहभागी थिए।
‘हामीले उपलब्ध स्रोत, साधन र जनशक्ति परिचालन गरी चाँडोभन्दा चाँडो विपद् व्यवस्थापनको काम सक्दैछौँ,’ मुख्यमन्त्रीहरूलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले भने, ‘त्यसैले यस विषयलाई लिएर ढुक्क हुन आग्रह गर्दछु।’
‘विपद् व्यवस्थापनमा कुनै सम्झौता हुँदैन’
प्रधानमन्त्री शाहले विपद् व्यवस्थापनमा सरकारले कुनै किसिमको सम्झौता नगरी काम गरिरहेको बताए। भदौ १० यता संघीय, प्रदेश र स्थानीय सरकारबीच समन्वय गरेर खोज, उद्धार, राहत तथा त्यसपछिका व्यवस्थापनका काम अघि बढाइएको उनको भनाइ छ।
भदौ १० गते भोटेकोशीमा आएको बाढीपछि सरकारले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आकस्मिक बैठकसँगै प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय परिषद्को बैठक राखेर सुरक्षा निकाय तथा सम्बन्धित सरकारी संयन्त्र परिचालन गरेको थियो।
प्रधानमन्त्री शाहले भोटेकोशी–त्रिशूली, गण्डकीलगायत विभिन्न क्षेत्रमा बाढी पहिरोबाट भएको क्षतिको अध्ययन भइरहेको र त्यसका आधारमा व्यवस्थापनका थप काम अघि बढाइने बताए।
पूर्वसूचना प्रणाली सुदृढ बनाउने
प्रधानमन्त्री शाहले विपद्पछि उद्धार र राहतमा केन्द्रित हुने अभ्याससँगै विपद् आउनुअघि नै जोखिम घटाउने संयन्त्रलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन्।
त्यसका लागि सरकारले विपद्सम्बन्धी पूर्वसूचना प्रणाली थप सुदृढ बनाउने तयारी गरिरहेको उनले जानकारी दिए।
हिमाली क्षेत्रमा देखिने जोखिमलाई समेत सम्बोधन गर्न हिम पहिरोको जोखिम न्यूनीकरणका लागि आवश्यक काम भइरहेको प्रधानमन्त्री शाहको भनाइ छ।
नेपालको विपद् व्यवस्थापन संरचनामा प्रधानमन्त्रीको अध्यक्षतामा रहने राष्ट्रिय परिषद्ले राष्ट्रिय नीति तथा योजना स्वीकृत गर्ने र विपद् व्यवस्थापनसम्बन्धी काममा आवश्यक नीतिगत निर्देशन दिने व्यवस्था छ।
राष्ट्रसेवक र सुरक्षाकर्मीप्रति कृतज्ञता
प्रधानमन्त्री शाहले विपद्का क्रममा आफ्नो ज्यानसमेत जोखिममा राखेर खोज, उद्धार, राहत तथा व्यवस्थापनमा खटिएका राष्ट्रसेवक कर्मचारी र सुरक्षाकर्मीप्रति कृतज्ञता व्यक्त गरे।
उनले विपद् प्रभावित क्षेत्रमा परिचालित स्वयंसेवक, राजनीतिक दलका प्रतिनिधि तथा व्यवस्थापनमा सहयोग पुर्याउने अन्य सबै पक्षलाई समेत धन्यवाद दिए।
सरकारले विपद् व्यवस्थापनलाई तत्कालीन खोज, उद्धार र राहतमा मात्रै सीमित नराखी जोखिम न्यूनीकरण, पुन:स्थापना तथा भविष्यका विपद्को पूर्वतयारीसँग जोडेर अघि बढाउने जनाएको छ।



