काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले निर्वाचन प्रहरीको पोसाक खरिद प्रक्रियाबारे राजनीतिक आग्रह–पूर्वाग्रहभन्दा माथि उठेर निष्पक्ष रूपमा अध्ययन गर्ने बताएकी छन् ।
बुधवार सिंहदरबारमा बसेको निर्वाचन प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालको पोसाक खरिदसम्बन्धी अध्ययन उपसमितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् ।
उनले निर्वाचन प्रहरीको पोसाक खरिद प्रक्रियासम्बन्धी उजुरी सार्वजनिक लेखा समितिमा परेको र बेनामी उजुरी पनि पर्न सक्ने भएकाले त्यसलाई अध्ययन गर्नु समितिको जिम्मेवारी भएको बताइन्।
उपसमितिको काम छानबिन वा कारबाही गर्ने नभई तथ्य र कागजातका आधारमा अध्ययन गरी प्रतिवेदन र आवश्यक सिफारिस पेश गर्नु रहेको बताइन्। सार्वजनिक खरिद ऐन तथा प्रचलित कानूनअनुसार खरिद प्रक्रिया भए/नभएको अध्ययन गरिने स्पष्ट पारिन् । उजुरी पर्नु नै कसैलाई दोषी ठहर गर्नु नभएको बताउँदै ओलीले उजुरीलाई तथ्य, प्रमाण र कानूनी प्रक्रियाका आधारमा अध्ययन गर्नुपर्ने बताइन् ।
उनले भनिन्,‘निर्वाचन प्रहरीको पोसाक खरिद प्रक्रियासम्बन्धी उजुरी सार्वजनिक लेखा समितिमा परेको छ । बेनामी उजुरी पनि पर्न सक्ने भएकाले त्यसलाई अध्ययन गर्नु समितिको जिम्मेवारी हो । यही उद्देश्यले हामीले अध्ययन उपसमिति गठन गरेका हौँ । उपसमितिको काम छानबिन वा कारबाही गर्ने होइन, तथ्य र कागजातका आधारमा अध्ययन गरी प्रतिवेदन र आवश्यक सिफारिस पेश गर्ने हो । सार्वजनिक खरिद ऐन तथा प्रचलित कानूनअनुसार खरिद प्रक्रिया भए–नभएको अध्ययन गरिनेछ । यस विषयमा व्यक्तिगत धारणा वा राजनीतिक आग्रह–पूर्वाग्रहभन्दा माथि उठेर निष्पक्ष रूपमा अध्ययन गर्नेछौँ । फरक मत हुनसक्छ तर समितिको बैठकमा सबैका धारणा सम्मानपूर्वक राखिनेछन् र निर्णय प्रक्रियाबाटै निष्कर्षमा पुगिनेछ । उजुरी पर्नु नै कसैलाई दोषी ठहर गर्नु होइन । भविष्यमा जोसुकै व्यक्ति वा निकायविरुद्ध उजुरी पर्न सक्छ । त्यसैले प्रत्येक उजुरीलाई तथ्य, प्रमाण र कानूनी प्रक्रियाका आधारमा अध्ययन गर्नुपर्छ । हाम्रो जिम्मेवारी स्पष्ट छ,विधिको शासन, कानूनको पालना र निष्पक्ष अध्ययन । कागजात तथा तथ्यको अध्ययनपछि जे देखिन्छ, त्यही आधारमा प्रतिवेदन र सिफारिस गर्नेछौँ ।’
प्रमुख सचेतक ओलीले कागजात तथा तथ्यको अध्ययनका आधारमा प्रतिवेदन र सिफारिस गर्ने बताएकी छन् ।



