काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले झापाका प्रमुख जिल्ला अधिकारी, नापी तथा मालपोत कार्यालयका अधिकारी र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूसँग छलफल गरिरहेकी छन् ।
आज झापा पुगेकी मन्त्री रावलले जिल्लाको प्रशासनिक अवस्था, भूमि व्यवस्थापनसँग सम्बन्धित समस्या तथा स्थानीय तह र सम्बन्धित कार्यालयहरूबीचको समन्वयका विषयमा छलफल थालेकी हुन् । छलफल अहिले जारी छ ।
भ्रमणका क्रममा मन्त्री रावलले जिल्ला भूमि समस्या समाधान समितिका पदाधिकारी तथा सहकारपीडितहरूसँग समेत छलफल गर्ने कार्यक्रम छ ।
त्यसैगरी, स्थानीय नागरिकसँग अन्तरक्रिया गरी भूमिहीन तथा सुकुम्वासीका समस्या, सहकारपीडितका गुनासा र भूमि व्यवस्थापनसँग सम्बन्धित विषयमा जानकारी लिने कार्यक्रम रहेको छ ।
अन्तरक्रियामा मन्त्रालयबाट हालसम्म भएका काम, समस्या समाधानका लागि अघि बढाइएका प्रयास र आगामी योजनाबारे जानकारी गराइनेछ । नागरिकका गुनासा सम्बोधनका सम्भावित उपाय तथा सम्बन्धित निकायहरूबीच आवश्यक समन्वयका विषयमा समेत छलफल हुने जनाइएको छ ।




