काठमाडौँ । परराष्ट्र मन्त्रालयले जापानस्थित नेपाली राजदूतावासका कार्यवाहक राजदूत एवं उपसचिव हरिहर कान्त पौडेललाई स्वदेश फिर्ता बोलाउने निर्णय गरेको प्रशासन उच्च स्रोतले जनाएको छ।
प्रशासन विशेष ब्युरोलाई परराष्ट्र मन्त्रालयको उच्च स्रोतबाट प्राप्त जानकारीअनुसार सेवाग्राहीका काममा अनावश्यक ढिलासुस्ती गरेको, काम गरिदिने नाममा घुस मागेको तथा सेवा लिन आउने व्यक्तिहरूलाई हैरानी दिएको भन्दै पटक–पटक गुनासो परेपछि उनलाई फिर्ता बोलाउने निर्णय गरिएको हो।
पौडेलमाथि भोटेकोशी बाढीपीडितका लागि जापानी पक्षबाट उपलब्ध गराइएको भनिएको सहयोग सरकारी कोषमा जम्मा नगरेको आरोपसमेत लागेको स्रोतको भनाइ छ। यद्यपि, उक्त सहयोगको रकम, प्रकृति र सरकारी कोषमा जम्मा भए–नभएको सम्बन्धमा आधिकारिक विवरण प्राप्त भएको छैन।
यसअघि कतार, इजरायल र स्पेनस्थित नेपाली कूटनीतिक नियोगमा कार्यरत रहिसकेका पौडेलको कार्यशैलीबारे विगतमा पनि प्रश्न उठेका थिए। विशेषगरी स्पेनस्थित नेपाली राजदूतावासमा कार्यरत रहँदा उनको भूमिकालाई लिएर विवाद भएको विषय यतिबेला पनि मन्त्रालयमा चर्चामा छ । कतार र इजरायलमा कार्यरत रहँदाको उनको कार्यसम्पादनबारे समेत आलोचना भएको थियो ।
पौडेल जापानस्थित नेपाली राजदूतावासका उपनियोग प्रमुख हुन्। राजदूत फिर्ता भएपछि उनले कार्यवाहक राजदूतको जिम्मेवारी सम्हाल्दै आएका थिए ।




