काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा गएको कर्जा ३.१ प्रतिशतले बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार साउनदेखि असोज मसान्तसम्म एक खर्ब ८४ अर्ब १९ करोड रुपैयाँ थपिएर निजी क्षेत्रतर्फको कर्जा ६० खर्ब ४१ अर्ब २५ करोड रुपैयाँ पुगेको हो।
राष्ट्र बैंकको तीन महिनाको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार बैंक तथा वित्तीय संस्थाको कुल कर्जामध्ये ६२.७ प्रतिशत घरजग्गा धितोमा प्रवाह भएको छ। कृषि तथा गैरकृषिजन्य वस्तुजस्ता चालु सम्पत्तिको सुरक्षणमा प्रवाह भएको कर्जाको हिस्सा १५.५ प्रतिशत छ।
असोज मसान्तसम्म निजी क्षेत्रमा गएको कर्जामध्ये ६२.९ प्रतिशत गैरवित्तीय संस्थागत क्षेत्रमा र ३७.१ प्रतिशत व्यक्तिगत तथा घरपरिवार क्षेत्रमा गएको छ। तीन महिनामा वाणिज्य बैंकहरूको निजी क्षेत्रतर्फको कर्जा ३.२ प्रतिशत र विकास बैंकहरूको ३.१ प्रतिशतले बढेको छ। वित्त कम्पनीहरूको यस्तो कर्जा भने १.२ प्रतिशतले घटेको छ।
खनिज क्षेत्रमा सबैभन्दा बढी वृद्धि, कृषिमा गिरावट
क्षेत्रगत रूपमा खनिजतर्फको कर्जा सबैभन्दा बढी १७.८ प्रतिशतले बढेको छ। यातायात उपकरण उत्पादन तथा मर्मतमा १२.४ प्रतिशत र धातुजन्य उत्पादन, यन्त्र तथा विद्युतीय सामान उत्पादनमा १०.७ प्रतिशतले कर्जा बढेको छ।
सञ्चार तथा सार्वजनिक सेवामा ५.४ प्रतिशत, सेवा उद्योग र थोक तथा खुद्रा व्यापारमा ३.९ प्रतिशत तथा यातायात र निर्माणमा ३.८ प्रतिशतले कर्जा बढेको छ। औद्योगिक उत्पादन र उपभोग्य क्षेत्रमा कर्जा समान २.३ प्रतिशतले बढेको छ। कृषि क्षेत्रको कर्जा २.५ प्रतिशत तथा वित्त, बीमा र अचल सम्पत्ति क्षेत्रको कर्जा ०.७ प्रतिशतले घटेको छ।
विपन्न वर्ग कर्जा १५.१ प्रतिशतले बढ्यो
कर्जाको प्रकारअनुसार विपन्न वर्ग कर्जा १५.१ प्रतिशत र माग तथा अन्य चालु पुँजी कर्जा ५.२ प्रतिशतले बढेको छ। व्यक्तिगत आवासीय घर कर्जासमेत समेटिएको घरजग्गा कर्जा ३.५ प्रतिशतले बढेको छ।
ट्रस्ट रिसिट र मार्जिन कर्जा समान २.९ प्रतिशतले बढ्दा आवधिक कर्जा २.६ प्रतिशतले बढेको छ। यस अवधिमा क्यास क्रेडिट कर्जा १.८ प्रतिशतले घटेको छ।





