काठमाडौँ । अर्थ मन्त्रालयले राजश्व चुहावट नियन्त्रणसम्बन्धी कानुनी व्यवस्था खारेज गर्ने प्रस्ताव अघि बढाएको छ ।
व्यावसायिक वातावरणलाई सहज र विश्वसनीय बनाउने, कानुनी दोहोरोपन हटाउने तथा विद्यमान कानुनी जटिलता न्यूनीकरण गर्ने उद्देश्यले यस्तो प्रस्ताव अघि बढाइएको अर्थ मन्त्रालयका सहसचिव सुमन दाहालले बताए ।
प्रतिनिधि सभाको अर्थ समितिमा भएको छलफलका क्रममा दाहालले विभिन्न अनुसन्धान तथा अध्ययन प्रतिवेदन, विशेष गरी उच्चस्तरीय आर्थिक सुधार कार्यदलको सुझाव र निजी क्षेत्रबाट आएका मागका आधारमा ऐन संशोधन तथा खारेजीको प्रस्ताव अघि बढाइएको जानकारी दिए ।
उनका अनुसार हाल राजस्व चुहावट नियन्त्रणसम्बन्धी कानूनी व्यवस्थामा रहेका विषयहरूलाई सम्बन्धित कानुनमै समेट्ने प्रस्ताव गरिएको छ ।
आयकरसँग सम्बन्धित विषय आयकर ऐनमा र मूल्य अभिवृद्धि कर (भ्याट) तथा मालवस्तुको ढुवानी र ओसारपसारसँग सम्बन्धित भेहिकल एन्ड कन्साइनमेन्ट ट्र्याकिङ सिस्टम (भीसीटीएस) का विषय मूल्य अभिवृद्धि कर ऐनमा समावेश गर्ने प्रस्ताव छ । त्यसैगरी, भन्सार क्षेत्रभित्र तथा भन्सारबाहिर हुने चोरी पैठारी नियन्त्रणका लागि गरिने अनुसन्धानसम्बन्धी व्यवस्थालाई भन्सार ऐनमा समेट्ने तयारी गरिएको उनले बताए ।
सहसचिव दाहालले भने,‘राजश्व चुहावट नियन्त्रणसम्बन्धी दुईवटा ऐन तथा नियमावली खारेज गर्ने प्रस्ताव गरिएको छ । विशेष गरी व्यावसायिक वातावरणलाई थप विश्वसनीय र सहज बनाउन, विभिन्न काममा देखिएको दोहोरोपन हटाउन तथा कानुनी जटिलता न्यूनीकरण गर्ने उद्देश्यले यस्तो प्रस्ताव अघि सारिएको हो । पछिल्लो समय भएका विभिन्न अनुसन्धान तथा अध्ययन प्रतिवेदनहरू, विशेष गरी उच्चस्तरीय आर्थिक सुधार कार्यदलको सुझाव र निजी क्षेत्रबाट आएका मागलाई समेत मध्यनजर गर्दै ऐन संशोधन तथा खारेजीको प्रस्ताव गरिएको हो । यसअन्तर्गत हालका व्यवस्थामा रहेका मूल विषयहरूलाई सम्बन्धित कानुनमा समेट्ने प्रस्ताव छ । आयकरसँग सम्बन्धित विषयहरू आयकर ऐनमा, मूल्य अभिवृद्धि कर (भ्याट) सँग सम्बन्धित विषयहरू तथा मालवस्तुको ढुवानी र ओसारपसारसँग सम्बन्धित भेहिकल एण्ड कन्साइनमेन्ट ट्र्याकिङ सिस्टम भिसिटिएसका विषयहरू मूल्य अभिवृद्धि कर ऐनमा समावेश गरिनेछ । त्यसैगरी, भन्सार क्षेत्रभित्र तथा भन्सारबाहिर हुने चोरी पैठारी नियन्त्रणका लागि गरिने अनुसन्धानसम्बन्धी विषयहरू भन्सार ऐनमा समेट्ने गरी प्रस्ताव गरिएको छ ।’
कानुनी व्यवस्था एउटै विषयमा दोहोरिने अवस्था अन्त्य गर्दै सम्बन्धित विषयलाई सम्बन्धित ऐनबाटै व्यवस्थित गर्ने उद्देश्यले प्रस्ताव ल्याइएको दाहालको भनाइ छ ।






