काठमाडौँ । कर्मचारी प्रशासनमा लामो समयदेखि समस्याका रूपमा रहँदै आएको सरुवा प्रणालीमा कृषि, वन तथा पर्यावरण मन्त्रालयले पुरानै कार्यशैलीलाई निरन्तरता दिएको भन्दै कर्मचारीहरू असन्तुष्ट बनेका छन् । मन्त्रालयले पछिल्ला महिनामा खरिदारदेखि सहसचिवसम्मका सयौँ कर्मचारीको सरुवा तथा पदस्थापन गरे पनि त्यससम्बन्धी सूची सार्वजनिक गरेको छैन ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निरन्तर निगरानी र कडा निर्देशनका बाबजुद मन्त्रालयले सरुवा तथा पदस्थापनका निर्णय सम्बन्धित कर्मचारीलाई मात्र उपलब्ध गराउने र सूची सार्वजनिक नगर्ने गरेको पाइएको हो ।
तत्कालीन कृषि तथा पशुपन्छी विकास मन्त्रालय र वन तथा वातावरण मन्त्रालय गाभिएपछि जिम्मेवारी र कार्यक्षेत्र अझ फराकिलो बनेको मन्त्रालयमा कर्मचारी व्यवस्थापनकै प्रक्रिया पारदर्शी नहुँदा असन्तुष्टि बढेको छ । विशेषगरी विगतदेखि दुर्गम क्षेत्रमा कार्यरत र अवसरबाट वञ्चित कर्मचारीहरूले जेन जेड आन्दोलनपछि बनेको वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारमा समेत सरुवा प्रणालीमा अपेक्षित परिवर्तन महसुस गर्न नसकेको गुनासो गरेका छन् ।
‘हिजो पनि शक्तिकेन्द्र नजिक हुने र सिंहदरवारभित्रै छाएर तथा नियमित धाएर मन्त्री–सचिव तथा तिनका सचिवालयलाई खुसी पारेर अवसर लिएका थिए, आज पनि दुर्गममा काम गरेका र अवसरबाट बिमुख भएका कर्मचारी बेवास्थामै छन्,’ मन्त्रालयका एक अधिकृतले दु:खेसो पोख्दै भने, ‘अहिलेको सरकारले हिजोको जस्तो सरुवामै खुलेआम मोलमोलाई ब्रेक लगाउन सफल भएपनि आसेपासेहरुलाई च्याप्ने काम भने सरुवा निर्णयबाट देखिएको छ ।’
प्रशासन सिंहदरबार विशेष ब्युरोलाई प्राप्त जानकारीअनुसार मन्त्रालयले २०८३ असोज २६ गते खरिदारको पदस्थापन गरेको थियो । उक्त पदस्थापनको सूची हालसम्म सार्वजनिक गरिएको छैन । त्यसयता नायब सुब्बा, शाखा अधिकृत, उपसचिव र सहसचिव तहका सयौँ कर्मचारीको सरुवा तथा पदस्थापन गरिएको मन्त्रालय स्रोतको भनाइ छ । ती निर्णयको सूचीसमेत सार्वजनिक गरिएको छैन ।
पछिल्लो पटक मंसिर ३ गते अधिकृतस्तरका कर्मचारीको सरुवा गरिएको भए पनि त्यसको सूची मन्त्रालयको वेबसाइटमा राखिएको छैन । यसअघि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका झन्डै दुई दर्जन कर्मचारीको सरुवालाई लिएर व्यापक असन्तुष्टि र आलोचना भएको थियो । त्यसयता थप सरुवाका निर्णय सार्वजनिक गर्दा आलोचना बढ्ने आशंकामा सूची सार्वजनिक नगर्ने गरिएको मन्त्रालय स्रोतको दाबी छ । गुपसुचीकै आड लिएर थप चलखेलसमेत भईरहेको सरुवाबारे जानकार अर्का अधिकृत बताउँछन् ।
कर्मचारी प्रशासनको नियमित प्रक्रियाअन्तर्गत पर्ने सरुवा तथा पदस्थापनको सूची किन सार्वजनिक नगरिएको भन्ने प्रशासनको प्रश्नमा मन्त्रालयका प्रवक्ता डा. महेश्वर ढकालले पुरानै रेडिमेट जवाफ दिँदै भने, ‘ठ्याक्कै थाहा भएन सर, के भएको रहेछ, म बुझ्छु ।’
सरुवा तथा पदस्थापनको सूची सार्वजनिक नहुँदा कुन कर्मचारीलाई कहाँ र कुन आधारमा खटाइएको छ भन्ने जानकारीसमेत पाउन नसकेको कर्मचारीहरूको गुनासो छ ।
संगठन पुनर्संरचनादेखि महानिर्देशक हेरफेरसम्म प्रश्न
मन्त्रालयमा सरुवा तथा पदस्थापनमा मात्रै नभई संगठन तथा व्यवस्थापन (ओएन्डएम) सर्वेक्षण, दरबन्दी मिलान, नयाँ संरचना निर्माण र विभागीय नेतृत्व हेरफेरका विषयमा समेत असन्तुष्टि बढेको छ । दुई ठूला मन्त्रालय गाभिएपछि प्रशासनिक दोहोरोपन हटाउँदै संरचना चुस्त, मितव्ययी र प्रभावकारी बनाउनुपर्नेमा नयाँ विभाग तथा शाखा थपिएको र केही पदको सेवा समूह परिवर्तन गरिएको भन्दै कर्मचारीहरूले त्यसको औचित्यमाथि प्रश्न उठाएका छन् ।
संघीयता कार्यान्वयनका क्रममा २०७५ सालमा वन विभागमा गाभिएको तत्कालीन भूसंरक्षण विभागसँग मिल्दोजुल्दो विभागीय संरचना पुन: स्थापना गरिएको छ । राष्ट्रपति चुरे-तराई मधेश संरक्षण विकास समिति क्रियाशील रहेकै अवस्थामा भूसंरक्षण तथा चुरेसम्बन्धी नयाँ विभागीय संरचना आवश्यक पर्नुको आधार स्पष्ट हुनुपर्ने कर्मचारीहरूले बताईरहेपनि सुनेनसुने नेतृत्वले भने वास्तै नगरेको भन्दै थप असन्तुष्टि बढेको देखिएको छ । नयाँ विभागको नेतृत्वमा यसअघि मन्त्रालयको सहभागितामूलक वन महाशाखामा कार्यरत डा. रामचन्द्र कँडेललाई पठाइएको छ ।
वातावरणीय प्रभाव अध्ययनसम्बन्धी कामका लागि प्रदेशगत आधारमा शाखा विस्तार गरिएको विषयमा पनि प्रश्न उठेको छ । मन्त्रालय स्रोतका अनुसार यसअघि एउटै शाखाबाट हुँदै आएको काम अहिले चार-पाँच शाखामा विभाजन गरिएको छ । वातावरणीय प्रभाव अध्ययन तथा स्वीकृतिसम्बन्धी कतिपय अधिकार प्रदेश र स्थानीय तहमा समेत हस्तान्तरण भइसकेको अवस्थामा संघीय मन्त्रालयमा थपिएका शाखाको आवश्यकता र औचित्य कार्यबोझ तथा कार्यसम्पादनका आधारमा पुष्टि हुनुपर्ने कर्मचारीहरूको भनाइ छ ।
वातावरण विभागको महानिर्देशक पदको सेवा समूह परिवर्तनलाई लिएर पनि मन्त्रालयभित्र असन्तुष्टि देखिएको छ । यसअघि प्रशासन सेवातर्फ रहेको राजपत्राङ्कित प्रथम श्रेणीको महानिर्देशक पदलाई पछिल्लो पुनर्संरचनामा इन्जिनियरिङ सेवाअन्तर्गत केमिस्ट्री समूहमा रहने व्यवस्था गरिएको छ । वनस्पति विभागबाट सरोजकुमार चौधरीलाई वातावरण विभागको नेतृत्वमा ल्याइएको छ । प्रशासन सेवाको दरबन्दी हटाएर निश्चित प्राविधिक समूहका कर्मचारीले नेतृत्व गर्ने व्यवस्था गर्नुको संस्थागत आधारमाथि कर्मचारीहरूले प्रश्न उठाएका छन् ।
यस सम्बन्धमा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रशासनिक प्रक्रियाबाटै टुंगिने भएकोले आफ्नो खासै भूमिका नरहने बताएपनि विभागको महानिर्देशक पदमा प्रशासन सेवाको सट्टा निश्चित प्राविधिक सेवा समूहको दरबन्दी कायम गरिएको सम्बन्धमा भने उनले सम्बन्धित सेवा समूहका कर्मचारीको वृत्तिविकासलाई न्याय हुने गरी नै उक्त व्यवस्था गरिएको बताइन् ।
वन विभागको महानिर्देशकमा नवराज पुडासैनीलाई दिइएको जिम्मेवारीसहित मातहतका विभिन्न विभागमा भएको उच्चपदस्थ कर्मचारीको जिम्मेवारी हेरफेरलाई लिएर पनि कर्मचारीहरूले असन्तुष्टि व्यक्त गरेका छन् । विभागीय नेतृत्व परिवर्तन नियमित प्रशासनिक प्रक्रिया भए पनि त्यसको आधार, आवश्यकता, सम्बन्धित कर्मचारीको अनुभव र विषयगत विशेषज्ञता स्पष्ट हुनुपर्ने उनीहरूको माग छ ।
संगठन पुनर्संरचना तथा कर्मचारी व्यवस्थापनमा मन्त्रीको सचिवालय र केही उच्चपदस्थ कर्मचारीको प्रभाव परेको आशंकासमेत मन्त्रालय स्रोतले व्यक्त गरेको छ । स्रोतले मन्त्रीको सचिवालयसँग सम्बन्धित शिवशंकर चौधरीको भूमिकामाथि समेत प्रश्न उठाएको छ ।
सचिवको प्रशासनिक नेतृत्वमाथि पनि प्रश्न
मन्त्रालयको राजनीतिक नेतृत्व मात्रै नभई सचिव डा. राजेन्द्रप्रसाद मिश्रको प्रशासनिक नेतृत्व र समन्वय क्षमतामाथि समेत मन्त्रालयकै उच्च अधिकारीहरूले प्रश्न उठाएका छन् । सचिवको प्रशासनिक कमान्ड कमजोर हुँदा मन्त्रालयले अपेक्षित गति लिन नसकेको उनीहरूको भनाइ छ ।
यसअघि छुट्टाछुट्टै मन्त्रालय हुँदा तीन जना सचिवले सम्हाल्दै आएको कार्यक्षेत्र दुई मन्त्रालय गाभिएपछि एउटै सचिवको जिम्मेवारीमा आएको छ । मन्त्रालयको आकार, कार्यक्षेत्र र जिम्मेवारी बढेसँगै सचिव मिश्रलाई प्रशासनिक व्यवस्थापनको भार थेग्न कठिन भएको मन्त्रालयका एक सहसचिवले प्रशासनलाई बताए ।
उनका अनुसार विस्तारित मन्त्रालयको प्रशासनिक नेतृत्व प्रभावकारी हुन नसक्दा कर्मचारी व्यवस्थापनदेखि कार्यक्रम कार्यान्वयन तथा सेवा प्रवाहसम्म अपेक्षित चुस्तता आउन सकेको छैन । मन्त्रालय गाभिएपछि बढेको जिम्मेवारीअनुरूप प्रशासनिक नेतृत्व, आन्तरिक समन्वय र निर्णय क्षमता प्रभावकारी बनाउन नसकिएको उनको भनाइ छ ।
कर्मचारी व्यवस्थापन र सेवा प्रवाहमा कडाइ गर्दै आएको सरकारले आफ्नै मन्त्रालयभित्र हुने सरुवा, पदस्थापन, दरबन्दी परिवर्तन तथा जिम्मेवारी बाँडफाँटका निर्णयमा समेत पारदर्शिता, प्रभावकारिता र जवाफदेहिताको समान मापदण्ड लागू गर्नुपर्ने कर्मचारीहरूको अपेक्षा छ ।








