काठमाडौँ । गृह मन्त्रालयले नौ जना सहसचिवको सरुवा तथा पदस्थापन गरेको छ । मन्त्रालयको मङ्सिर ११ गतेको निर्णयअनुसार चार जना सहसचिवको सरुवा र पाँच जनाको पदस्थापन गरिएको हो ।
मन्त्रालयले सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेलाई अध्यागमन विभागको महानिर्देशकमा सरुवा गरेको छ । विभागका महानिर्देशक रामचन्द्र तिवारीलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सरुवा गरिएको छ ।
त्यसैगरी पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई गृह मन्त्रालयमा सरुवा गरिएको छ भने गृह मन्त्रालयका सहसचिव एकदेव अधिकारीलाई पर्साको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।
मन्त्रालयले सहसचिव गिता कुमारी होमेगाईलाई रामेछाप, बीरेन्द्र कुमार मिश्रलाई दैलेख र बिमल प्रसाद बराललाई महोत्तरीको प्रमुख जिल्ला अधिकारीमा पदस्थापन गरेको छ ।
त्यस्तै सहसचिव शिव प्रसाद रेग्मीलाई प्युठान र दीपक लामिछानेलाई सिन्धुलीको प्रमुख जिल्ला अधिकारीमा पदस्थापन गरिएको छ ।
सरुवा तथा पदस्थापनको निर्णयसँगै पर्सा, रामेछाप, दैलेख, महोत्तरी, प्युठान र सिन्धुली गरी ६ जिल्लाले नयाँ प्रमुख जिल्ला अधिकारी पाएका छन् ।







