भारतका गल्लीमा मजदुरी गर्दा पनि सुनिलले निजामती सेवाको सपना मर्न दिएनन् । समाजले उनका असफलताको हिसाब गरिरहँदा उनी सफलताको तयारीमा जुटिरहे । नौ वर्षको संघर्षपछि अन्ततः वरिष्ठ प्रशासन सहायकमा सिफारिस भएका सुनिलको जीवनयात्राले भन्छ– असफलताले होइन, हार मान्ने निर्णयले मात्र सपना रोक्छ ।
दैलेख । सफलता एकैपटक प्राप्त हुँदैन, तर निरन्तर प्रयास गरिरहनेहरूका लागि कुनै न कुनै दिन सफलता अवश्य सम्भव हुन्छ । यही भनाइलाई आफ्नो जीवनमा चरितार्थ गरेका छन् दैलेखको ठाटीकाँध गाउँपालिका-६, गुयालसिमका सुनिल वि.सी.ले । भारतका विभिन्न गल्लीमा मजदुरी गर्न बाध्य भएका सुनिलले झन्डै नौ वर्षको कठिन संघर्ष, अनगिन्ती असफलता र निरन्तर मेहनतपछि निजामती सेवामा प्रवेश गर्ने आफ्नो सपना साकार पारेका छन् ।
लोक सेवा आयोगका परीक्षामा पटक-पटक असफल हुँदै आएका सुनिलले करिब नौ वर्षको तयारी अवधिमा शाखा अधिकृत, नायब सुब्बा, खरिदार, प्रदेश तथा स्थानीय तहका पाँचौँ र चौथो तह, शिक्षक सेवा, प्राविधिक सहायक (प्रा.स.) तथा विभिन्न संस्थानका गरी करिब १२१-१२२ वटा परीक्षा दिएका थिए । यति धेरै परीक्षामा सहभागी हुँदा पनि सफलता हात नपरेपछि धेरैले हार मान्न सक्छन्, तर सुनिलले असफलतालाई आफ्नो यात्राको अन्त्य नभई सिकाइको माध्यम बनाए ।
अन्ततः उनको मेहनत, निरन्तरता र धैर्यले सार्थकता पाएको छ । उनी सुदूरपश्चिम प्रदेश निजामती सेवाअन्तर्गत प्रशासन सेवा, सामान्य प्रशासन समूहको पाँचौँ तहको वरिष्ठ प्रशासन सहायक पदमा स्थायी नियुक्तिका लागि सिफारिस भएका छन् ।
सुदूरपश्चिम प्रदेश लोक सेवा आयोगले २०८३ मंसिर ११ गते प्रकाशित गरेको सिफारिससम्बन्धी सूचनाअनुसार खुला प्रतिस्पर्धातर्फ उनी ११औँ योग्यताक्रममा सामाजिक विकास मन्त्रालयमा स्थायी नियुक्तिका लागि सिफारिस भएका हुन् । यो सफलतासँगै वर्षौँदेखि देख्दै आएको उनको सपना पूरा भएको छ ।
भारतका गल्लीमा मजदुरी, मनमा निजामती सेवाको सपना
सुनिलको जीवनयात्रा सहज थिएन । गाउँकै विद्यालयबाट कक्षा १२ सम्मको अध्ययन पूरा गरेपछि आर्थिक तथा पारिवारिक परिस्थितिका कारण उनी केही वर्ष भारतका विभिन्न गल्लीमा मजदुरी गर्न पुगे । मजदुरीका कारण उनको पढाइमा केही समय विराम लाग्यो । त्यसपछि पुनः अध्ययन र लोक सेवाको तयारीमा फर्किँदा अध्ययनको आधार तयार गर्न उनलाई केही समय लाग्यो ।
सामान्य कृषि पेसामा आबद्ध बुबाआमा रहेको उनको परिवारमा अध्ययन र सरकारी सेवाप्रतिको प्रेरणाका स्रोत उनका दाइ रेशमबहादुर बुढा बने । उनका दाइ नेपाल सरकारका शाखा अधिकृत हुन् । सुनिलका अनुसार हाल उनी कालीकोटको पलाँता गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत छन् ।
दाइको निजामती सेवाप्रतिको लगाव र सफलताबाट प्रेरित भएर सुनिलले पनि सरकारी सेवामा प्रवेश गर्ने लक्ष्य बनाए । दाइले दैनिक १६ घण्टासम्म निरन्तर अध्ययन गर्नुपर्ने सुझाव दिने गरेको सुनिल बताउँछन् । दाइको त्यही सुझावलाई आत्मसात् गर्दै आफूले पनि हार नमानी निरन्तर मेहनत गरेको उनको भनाइ छ ।
असफलताले थकाएन, बरु झन् दृढ बनायो
लोक सेवाको तयारीका क्रममा सुनिलले धेरैपटक परीक्षा राम्रो भएको महसुस गरे पनि नतिजा आफ्नो पक्षमा पाएनन् । तयारी र परीक्षाबीच उचित तालमेल नमिल्दा तथा प्रतिस्पर्धामा पछि पर्दा उनले पटक-पटक निराशाजनक परिणाम भोग्नुपरेको थियो । तर, उनी कहिल्यै हतोत्साहित भएनन् ।
‘यतिका परीक्षा दिँदा एउटा पनि सफलता प्राप्त नभए पनि म कहिल्यै निराश भएनँ । कत्ति पनि हार नमानी निरन्तर लागिरहेँ । आफूलाई फरक तरिकाले प्रस्तुत गर्ने प्रयास गरेँ । मैले कहिल्यै लोक सेवालाई विकल्पमा राखिनँ र लोक सेवाबाहेक अन्य विकल्प पनि देखिनँ । आँखामा एउटै सपना थियो- निजामती कर्मचारी बन्ने,’ सुनिल भन्छन् ।
उनका अनुसार आफूभन्दा पहिले सफल भएका साथीहरू पनि कुनै समय आफूसरह संघर्षरत थिए भन्ने सम्झेर उनले आफैँलाई हौसला दिने गर्थे । लोक सेवाको प्रतिस्पर्धामा सफलता प्राप्त गर्नु सामान्य कुरा होइन भन्ने बुझेरै उनले आफ्नो तयारीलाई निरन्तरता दिए ।
असफलताबीच सामाजिक आलोचना, परिवारको भरोसा
लामो समयसम्म लोक सेवामा सफलता प्राप्त गर्न नसक्दा सुनिलले सामाजिक आलोचनासमेत सामना गर्नुपर्यो । नागरिकतालगायत राज्यबाट प्राप्त गर्नुपर्ने सम्पूर्ण प्रमाणपत्र प्राप्त गरिसकेको व्यक्तिले एउटा लोक सेवा परीक्षा पनि उत्तीर्ण गर्न नसकेको भन्दै समाजले आफूलाई गैरनागरिकसरह व्यवहार गरेको र त्यही रूपमा परिभाषित गर्न खोजेको अनुभव उनी सुनाउँछन् ।
तर, समाजको आलोचना र टिप्पणीले लक्ष्यप्रतिको उनको दृढतालाई कमजोर बनाउन सकेन । ‘मलाई थाहा थियो, समाज आलोचक र प्रशंसक दुवै हो । त्यसैले म त्यस्ता कुरामा अल्झिएनँ,’ उनी भन्छन् ।
उनका बुबा शेरबहादुर बुढालाई भने छोराले ढिलो भए पनि एक दिन सफलता प्राप्त गर्ने विश्वास थियो । ‘ढिलो भए पनि मेरो छोराले पास गर्छ’ भन्ने बुबाको आशा र भरोसा सुनिलका लागि निरन्तर प्रेरणाको स्रोत बनिरह्यो । बुबाको सपना जीवित राख्न आफूले मेहनतमा कुनै कसर बाँकी नराखेको उनी बताउँछन् ।
घरपरिवार र साथीभाइको पूर्ण साथ पाएका सुनिलले अन्य कुराको वास्ता नगरी अध्ययन र परीक्षालाई नै प्राथमिकता दिए । लोक सेवाको नतिजा आउने दिन साथीहरूले अर्को परीक्षा नजिकिएको र नयाँ विज्ञापन खुल्ने भन्दै तनाव नलिई तयारी गर्न सुझाउँथे तथा आगामी परीक्षामा सफलता प्राप्त हुने विश्वास दिलाउँथे । यस्तै सकारात्मक हौसला र आत्मीय भरोसाबीच उनको संघर्षका वर्षहरू बित्दै गए ।
सयौँ कोटामा असफल, एक-दुई कोटामा पनि प्रयास जारी
सुनिलको संघर्षको अर्को पाटो प्रतिस्पर्धाको कठिनाइ र त्यसबीच पनि उनले कायम राखेको आत्मविश्वास हो । लोक सेवा आयोगले सयौँको संख्यामा पदका लागि विज्ञापन खुलाउँदा पनि उनले परीक्षा दिएका थिए । पछि एक-दुई जनाका लागि मात्रै विज्ञापन खुल्दा पनि उनले परीक्षामा सहभागी हुन छाडेनन् ।
सयौँ पद खुल्दा पनि नाम निकाल्न नसकेको अवस्थामा एक-दुई पदमा कसरी सफल हुने भन्ने प्रश्न र टिप्पणी गाउँ, टोल तथा चोकका चियागफमा उनको असफलतासँग जोडिएर उठ्ने गर्थे । तर, उनले ती टिप्पणीलाई आफ्नो लक्ष्यबाट विचलित हुने कारण बन्न दिएनन् ।
‘सयौँको संख्यामा कोटा खुल्दा पनि सफल भइनँ, अहिले एक-दुई कोटा खुल्दा पनि परीक्षा दिइरहेको छु । तर, कतै सफल हुन सकिरहेको थिएन । यति धेरै कोटामा नाम निकाल्न नसकेपछि एक-दुई कोटामा के नाम निकाल्थ्यो र भन्ने टिप्पणी पनि सुनिन्थ्यो,’ उनी आफ्नो संघर्षका दिन सम्झन्छन् ।
उनका अनुसार अपराध गरेर पनि छुटकारा पाउने व्यक्तिहरूका उदाहरण समाजमा देखिए पनि आफू भने असफलताको आरोप र आलोचनाबाट छुटकारा पाउन सकेका थिएनन् । तर, उनी हरेक बिहान नयाँ आशा बोकेर उठ्थे । भोलिपल्टै परीक्षा भए पनि अथवा एउटै पदका लागि मात्र विज्ञापन खुलेको भए पनि नाम निकाल्न सक्छु भन्ने साहस र आत्मविश्वासका साथ उनी तयारीमा जुटिरहे ।
परीक्षाकै लागि सातै प्रदेशका ५५-५६ जिल्ला पुगे
लोक सेवाको तयारी र परीक्षाका क्रममा सुनिल नेपालका सातै प्रदेशका करिब ५५-५६ जिल्लामा पुगिसकेको बताउँछन् । परीक्षाकै लागि विभिन्न जिल्ला पुग्नु, लामो यात्रा गर्नु, समय र खर्चको व्यवस्थापन गर्नु तथा अध्ययन र तयारीलाई निरन्तरता दिनु उनका लागि सहज थिएन । तर, कुनै पनि कठिनाइले उनलाई आफ्नो लक्ष्यबाट पछि हटाउन सकेन ।
‘मेहनत, निरन्तरता र धैर्यताले पक्कै एक दिन सफल बनाउँछ । आफैँले आफैँलाई धोका दिइएन भने एकपटक सफलता अनिवार्य मिल्छ,’ सुनिलको विश्वास छ ।
असफलताको लामो शृङ्खलापछि सफलताको नयाँ अध्याय
करिब नौ वर्षको तयारी, १२१-१२२ वटा परीक्षा, भारतमा मजदुरी गर्दाका कठिन दिन, सामाजिक आलोचना, अनगिन्ती निराशाजनक नतिजा र परिवारको निरन्तर भरोसाबीच सुनिलले अन्ततः आफ्नो सपना पूरा गरेका छन् ।
उनको सफलता केवल एउटा सरकारी पद प्राप्त गर्नुमा मात्र सीमित छैन, असफलताले चारैतिरबाट घेरिएको अवस्थामा पनि आफ्नो लक्ष्यप्रति इमानदार रहन सके सफलता सम्भव हुन्छ भन्ने एउटा जीवन्त उदाहरणसमेत हो ।
सुनिल वि.सी.को जीवनयात्राले मेहनत, धैर्य, निरन्तरता र आत्मविश्वासको महत्त्वलाई उजागर गरेको छ । आज उनी निजामती सेवामा प्रवेशका लागि सिफारिस भइरहँदा हिजोका असफल परीक्षा, सामाजिक आलोचना र संघर्षका कठिन दिनहरू नै उनका लागि सफलताका खुड्किला बनेका छन् ।
उनको कथा एउटा सन्देश हो- असफलताले सपना रोक्दैन, सपना त्याग्ने निर्णयले मात्र यात्रा रोक्छ । निरन्तर प्रयास गर्नेहरूका लागि सफलता ढिलो आउन सक्छ, तर संघर्षलाई निरन्तरता दिइरहे एक दिन सपना वास्तविकतामा बदलिन सक्छ ।







