काठमाडौँ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले रसुवा-भोटेकोशी बाढीमा बेपत्ता भएका तीन हजार ९१५ जनालाई मृत घोषणा गर्न नेपाल सरकारसमक्ष सिफारिस गरेको छ ।
गृहमन्त्री एवं समितिका अध्यक्ष सुधन गुरुङको अध्यक्षतामा मङ्सिर १० गते बसेको समितिको ३८औँ बैठकले ४८ जिल्लाबाट यकिन भएका तीन हजार २९२ नेपाली र १९ विदेशी नियोगबाट यकिन भएका ६२३ विदेशी नागरिकलाई मृत घोषणा गर्न सिफारिस गरेको हो ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आइतबार बैठकका निर्णय सार्वजनिक गरेको छ । बाढीमा फेला परेका शवमध्ये डीएनए, औँठाछाप, दन्त परीक्षण तथा मृत्युअघि र मृत्युपछिका विवरणको परीक्षणबाट पहिचान भएका शव क्रमशः हस्तान्तरण गर्दै जाने निर्णयसमेत भएको छ ।
आवास पुनर्निर्माणमा ६ देखि ८ लाख अनुदान
समितिले विपद्बाट क्षतिग्रस्त घर पुनर्निर्माणका लागि भौगोलिक क्षेत्रअनुसार अनुदान उपलब्ध गराउने निर्णय गरेको छ । हिमाली जिल्लाका लाभग्राहीलाई आठ लाख, पहाडी जिल्लाका लाभग्राहीलाई सात लाख र तराईका जिल्लाका लाभग्राहीलाई छ लाख रुपैयाँ उपलब्ध गराउने गरी सम्बन्धित मापदण्ड र कार्यविधि संशोधन गरिने भएको छ ।
यसका लागि अर्थ मन्त्रालयको सहमतिमा विपद् संवेदनशील सामाजिक सुरक्षा तथा राहत वितरण मापदण्ड, २०८१ र निजी आवास प्रबलीकरण, पुनर्निर्माण तथा पुनर्स्थापना कार्यविधि, २०८१ संशोधन गरिनेछ ।
निजी तथा एकीकृत आवास निर्माणका लागि प्रतिपरिवार २५ लाख रुपैयाँसम्म सहुलियतपूर्ण ऋण उपलब्ध गराउन अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंकमार्फत आवश्यक व्यवस्था मिलाउने निर्णय भएको छ ।
आवास पुनर्निर्माणका लागि आवश्यक ढुंगा, माटो, गिट्टी र बालुवालगायत निर्माण सामग्री स्थानीय तहले नि:शुल्क उपलब्ध गराउनेछन् । स्थानीय तहबाट उपलब्ध हुने काठमा लाग्ने राजस्व छुटको व्यवस्था कृषि, वन तथा पर्यावरण मन्त्रालयले मिलाउनेछ । काठ संकलन, प्रशोधन तथा ढुवानीका लागि स्थानीय तहले प्रतिलाभग्राही बढीमा ५० हजार रुपैयाँ अनुदान उपलब्ध गराई सोधभर्ना माग गर्न सक्नेछन् ।
विद्युत्, खानेपानी र शौचालयलगायत आधारभूत घरेलु सुविधा व्यवस्थापनका लागि सरकारी अनुदानका अतिरिक्त साझेदार संस्थाले पाँच लाख रुपैयाँसम्म सहयोग उपलब्ध गराउन सक्ने व्यवस्था गरिएको छ ।
विपद्का समयमा बसोबास गरिरहेको घर क्षतिग्रस्त भएका परिवारको सम्बन्धित स्थानीय तहभित्र अर्को आवास नभए अन्यत्र घर भएकै कारण पुनर्निर्माण अनुदानबाट वञ्चित नहुने गरी कार्यविधि संशोधन गरिनेछ ।
सम्बन्धित जिल्लाभित्र सुरक्षित आवास निर्माणयोग्य जग्गा नभएका परिवारलाई सरकारले विकास गरेको जोखिमरहित योजनाबद्ध बस्तीमा पुनर्स्थापना गर्न जग्गा उपलब्ध गराउने निर्णय पनि भएको छ ।
व्यवसायीलाई एक करोड र किसानलाई २० लाखसम्म सहुलियत कर्जा
रसुवा-भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका साना तथा मझौला व्यवसाय पुनः सञ्चालनका लागि अर्थ मन्त्रालयले सहुलियतका कार्यक्रम ल्याउने भएको छ ।
निर्णयअनुसार प्रभावित व्यवसायीलाई सहुलियत दरमा एक करोड रुपैयाँसम्म थप कर्जा उपलब्ध गराइनेछ । बैंकबाट लिएको ऋणको ब्याज तथा किस्ता भुक्तानीमा एक वर्षसम्म पुनरावलोकनको व्यवस्था मिलाइनेछ ।
कृषिमा क्षति बेहोरेका किसानलाई २० लाख रुपैयाँसम्म सहुलियतपूर्ण कर्जा तथा कृषि र पशुपन्छी उत्पादनमा क्षति पुगेका परिवारलाई प्रतिपरिवार ३० हजार रुपैयाँ राहत उपलब्ध गराउने व्यवस्था अर्थ मन्त्रालयले मिलाउनेछ ।
पुनर्निर्माण व्यवस्थापन सूचना प्रणाली (आरएमआईएस) मा समावेश हुन बाँकी लाभग्राहीको विवरण स्थानीय तहले सात दिनभित्र प्रविष्ट गरी प्रमाणीकरण गर्नुपर्नेछ । प्रणालीमा समावेश भएका लाभग्राहीलाई मन्त्रिपरिषद्को निर्णयअनुसार बसोबास तथा जीविकोपार्जन अनुदान स्थानीय तहले १५ दिनभित्र उपलब्ध गराउनुपर्ने निर्णय गरिएको छ ।
बाढी प्रभावित स्थानीय तहलाई थप तीन महिनासम्म विपद् संकटग्रस्त क्षेत्रका रूपमा कायम राख्न मन्त्रिपरिषद्समक्ष सिफारिस गरिएको छ । यसअघि २०८३ भदौ १० गते ती स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएको थियो ।
त्यस्तै, भदौ २५ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार उपलब्ध गराइँदै आएको बसोबास तथा जीविकोपार्जन अनुदानको अवधि थप छ महिना बढाउन पनि सिफारिस गरिएको छ ।
बाढी प्रभावित क्षेत्रमा नयाँ संरचना निर्माण रोक्ने प्रस्ताव
रसुवा-भोटेकोशी बाढीले प्रभावित भएको क्षेत्रलाई तत्कालका लागि बाढी जोखिम क्षेत्र मानी अर्को व्यवस्था नभएसम्म नयाँ संरचना निर्माणमा रोक लगाउने प्रस्ताव ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले मन्त्रिपरिषद्मा पेस गर्ने भएको छ ।
दीर्घकालीन जोखिम पहिचान, नक्सांकन तथा नदी क्षेत्रको सीमांकनका लागि सम्बन्धित निकायसँग समन्वय गरी सोही मन्त्रालयले मङ्सिर मसान्तभित्र अध्ययन प्रतिवेदन तयार गर्नेछ ।
संरचना निर्माण निषेध गरिएको क्षेत्रमा कृषि, सामाजिक तथा सांस्कृतिकलगायत गैरआवासीय प्रयोजनका लागि जग्गा उपयोगको योजना बनाइनेछ । सम्बन्धित भूमि प्रशासन तथा नापी कार्यालयमार्फत जग्गाको सीमा र स्वामित्वसम्बन्धी अभिलेख पुनर्स्थापना तथा समायोजन गरी प्रभावितहरूको समानुपातिक योगदानमा आधारित जग्गा पुनर्समायोजन योजना मङ्सिर मसान्तभित्र तयार गरिनेछ ।
यसको जिम्मेवारी भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई दिइएको छ । बाढीपछिको पुनर्निर्माण र पुनर्स्थापनाका लागि प्राधिकरणले माग गरेअनुसार थप जनशक्ति तत्काल उपलब्ध गराउने जिम्मेवारीसमेत उक्त मन्त्रालयलाई दिइएको छ ।
तीन जिल्लाका जोखिमयुक्त बस्ती स्थानान्तरण गरिने
समितिले डडेल्धुरा, अर्घाखाँची र गोरखाका जोखिमयुक्त बस्ती स्थानान्तरण गर्न स्वीकृति दिएको छ ।
डडेल्धुराको आलिताल गाउँपालिका-१ का भोका गाउँ र माला गाउँका जोखिममा रहेका घरधुरीलाई सोही पालिकाको उस्काला नजिक तथा वडा नम्बर २ को बलौचा गाउँको बस्तीलाई वडा नम्बर ६ को दोबाटामा स्थानान्तरण गरिनेछ ।
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-७ को भुजुङ्गेका जोखिमयुक्त घरधुरीलाई सोही नगरपालिकाको फुदवाङमा र गोरखाको चुमनुब्री गाउँपालिका-३ को देवल गाउँका जोखिमयुक्त बस्तीलाई फिलिम गाउँमा स्थानान्तरण गर्न स्वीकृति दिइएको छ ।
विपद् व्यवस्थापनसम्बन्धी रणनीति र कार्यविधि स्वीकृत
बैठकले सबैका लागि पूर्वसूचना (अर्ली वार्निङ फर अल) राष्ट्रिय मार्गचित्र, २०८३-२०८७ स्वीकृत गरी विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदमा पेस गर्ने निर्णय गरेको छ ।
वन डढेलो जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय रणनीति, २०८३ एवं कार्ययोजना, २०८३-८४-२०९१-९२ र वायु प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय कार्ययोजना, २०८३-२०८७ पनि स्वीकृत भएका छन् ।
पश्चिम नेपाल भूकम्प प्रभावित निजी आवास मर्मत, सुदृढीकरण, पुनर्निर्माण तथा पुनर्स्थापना कार्यविधि, २०८३ लाई समेत बैठकले स्वीकृति दिएको छ ।
रसुवा–भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सहयोग गर्न चाहने संघ-संस्थाले प्राधिकरणको सहमति लिई जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिसँग समन्वय गरेर सम्बन्धित स्थानीय तहमार्फत मात्र सहयोग उपलब्ध गराउनुपर्ने निर्देशन दिइएको छ ।
हिमालय विपद् स्मारक तथा अनुसन्धान केन्द्र स्थापना गरिने
बाढी प्रभावित क्षेत्रको बहुप्रकोप जोखिम मूल्यांकन गरी पूर्वाधार विकास मन्त्रालयले पुस १५ गतेभित्र रणनीतिक विकास योजना तयार गर्नेछ । उक्त योजनाका आधारमा सम्बन्धित मन्त्रालयहरूले आ-आफ्नो कार्यक्षेत्रअनुसार पुस मसान्तभित्र विस्तृत योजना तयार गर्नुपर्नेछ ।
बाढीपछिका प्रतिकार्य, अनुभव र सिकाइको अभिलेखीकरण तथा उच्च हिमाली क्षेत्रमा बढ्दो विपद् जोखिमको अध्ययन-अनुसन्धानका लागि उपयुक्त स्थानमा हिमालय विपद् स्मारक तथा अनुसन्धान केन्द्र (हिमालयन डिजास्टर मेमोरियल एन्ड रिसर्च सेन्टर) स्थापना गर्ने निर्णय पनि बैठकले गरेको छ ।
प्राधिकरणका उपसचिव एवं प्रवक्ता रामबहादुर केसीका अनुसार बैठकमा पूर्वाधार विकास मन्त्री सुनिल लम्साल, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावल र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको पनि उपस्थिति थियो ।







