काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवम् प्रतिनिधि सभा सदस्यका लागि रुकुम पूर्वका उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ र म्याग्दीका स्वतन्त्र उम्मेदवार महावीर पुनलाई मतदाताले नै ‘चुनाव खर्च’ दिएका छन् ।
‘प्रचण्ड’लाई सिस्ने गाउँपालिका-८, धपेका शहीद परिवारले निर्वाचन परिचालनका लागि भन्दै संयुक्त रूपमा १ लाख ५०५ रुपैयाँ सहयोग गरेको ‘प्रचण्ड’को सचिवालयले जनाएको छ ।
सशस्त्र युद्धकालमा शहीद भएका हरिचन्द्र पुनका बुवा पदमबहादुर पुनले आर्थिक सहयोग हस्तान्तरण गरेका थिए । सिस्नेको ८ नम्बर वडाबाट युद्धकालमा २० जना राज्य पक्षबाट मारिएका थिए । उनीहरूलाई ‘प्रचण्ड’ नेतृत्वको सरकारले शहीद घोषणा गरेको थियो ।
शहीद परिवारले ‘प्रचण्ड’लाई दिएको सो रकम ‘प्रचण्ड’ले निर्वाचन परिचालन समितिका संयोजक गणेशमान पुनलाई हस्तान्तरण गरेका थिए । संयोजक ‘प्रचण्ड’ले शहीद परिवारको सहयोग सांकेतिक तर शक्तिशाली भएको बताएका थिए ।
यसैबीच म्याग्दीबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका पूर्वमन्त्री महावीर पुनले घरदैलोको क्रममा आफू र आफ्नो चुनावी अभियानको टोलीलाई मतदाताले पैसा दिइरहेको बताएका छन् ।
महावीरले सामाजिक सञ्जाल लेखेका छन्, ‘अचम्मको कुरा हेर्नुहोस्-भोट माग्न गाउँगाउँ जाँदा मतदाताहरूले मलाई चुनाव खर्च भनेर पैसा दिइरहेका छन् ।’
मतदाताले दिएको खर्च एकीकृत गर्ने र हिसाबकिताब निर्वाचनको अन्तिममा सार्वजनिक गर्ने उनको प्रतिबद्धता छ ।







