सर्लाही। मलंगवामा गोली प्रहार गरी हत्या गरिएका सब-इन्जिनियर प्रमोद कुमार यादवको हत्या प्रकरणमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा जिल्ला महोत्तरी रामगोपालपुर नपा-५ घर भई हाल सर्लाही बरहथवा नपा-९ शान्ति टोलमा डेरा गरी बस्दै आएका ३४ वर्षीय गणेश कुमार महतो, जिल्ला सर्लाही बसबरीया गापा-२ मानपुर घर भई हाल बरहथवा नपा-९ शान्ति टोलमा बस्दै आएका २२ वर्षीय चन्द्र किशोर कुश्वाहा तथा जिल्ला महोत्तरी रामगोपालपुर नपा-५ बस्ने २२ वर्षीय विजय कुमार महतो रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) योगेन्द्र कुमार खडकाले पत्रकार सम्मेलनमार्फत जानकारी दिँदै गणेशलाई फागुन १२ गते राति ९ बजे मलंगवा नपा-८ बाट, चन्द्र किशोर कुश्वाहालाई फागुन १३ गते राति ११:३० बजे बलरा नपा-४ बाट तथा विजय कुमार महतोलाई फागुन १४ गते राति ९ बजे महोत्तरी रामगोपालपुर नपा-५ बाट पक्राउ गरिएको बताए ।
पक्राउ परेका गणेश कुमार महतो र विजय कुमार महतो सहोदर दाजुभाइ हुन् भने चन्द्र किशोर कुश्वाहा गणेश कुमार महतोका सालो रहेका छन् ।
सर्लाही प्रहरीका अनुसार, प्रदेश लोक सेवा आयोग, मधेस प्रदेश, जनकपुरधामले २०८१ फागुन ४ गते प्रकाशित गरेको नतिजाअनुसार सहायक पाँचौँ तह सब-इन्जिनियर पदमा मृतक प्रमोद कुमार यादव मुख्य उम्मेदवार तथा गणेश कुमार महतो एक मात्र वैकल्पिक उम्मेदवार सिफारिस भएका थिए ।
प्रचलित कानुनी प्रावधानअनुसार नियुक्त भएको मुख्य उम्मेदवारले नियुक्ति भएको एक वर्षभित्र राजीनामा दिएको वा मृत्यु भएको अवस्थामा मात्र वैकल्पिक उम्मेदवार नियुक्त हुने व्यवस्था रहेको छ । सोही प्रावधानअनुसार वैकल्पिक उम्मेदवार गणेश कुमार महतोले मृतक यादवको हत्या गर्ने योजना बनाएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
मुख्य अभियुक्त गणेश कुमार महतो सर्लाहीको रामनगर गाउँपालिकामा प्राविधिक सहायक पदमा कार्यरत रहेको प्रहरीले जनाएको छ ।
घटनापछि प्रहरीले विभिन्न विधि, प्रविधि तथा इन्टेलिजेन्स स्रोत प्रयोग गरी सूक्ष्म अनुसन्धान अघि बढाएको थियो । मृतकका परिवार, आफन्त, छिमेकी तथा साथीहरूसँग सोधपुछ गर्नुका साथै प्राविधिक विश्लेषणसमेत गरिएको थियो ।
२०८२ फागुन ३ गते साँझ करिब ८ बजे सिराहा सुखीपुर नपा-९ वैशाख घर भई हाल मलंगवा नपा-१० स्थित दुर्गानन्द यादवको घरमा डेरा गरी बस्दै आएका पूर्वाधार विकास कार्यालय सर्लाहीमा कार्यरत ३६ वर्षीय सब-इन्जिनियर प्रमोद कुमार यादवलाई निज अभियुक्तहरूले फोन गरी कोठाबाहिर बोलाएका थिए । त्यस लगत्तै उनको देब्रे छातीमा गोली प्रहार गरिएको थियो ।
गम्भीर घाइते भएका यादवलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको भए पनि उपचारकै क्रममा उनको मृत्यु भएको थियो ।
यस घटनामा फायर भएको गोलीको खोका १ थान, पेस्तोल १ थान, बीआर ०१ एफ जेड १०८२ नम्बरको भारतीय मोटरसाइकल १ थान तथा मोबाइल फोन ३ थान बरामद गरिएको प्रहरीले जनाएको छ ।
यादवको हत्यामा प्रयोग गरिएको सोही पेस्तोल फागुन ७ गते मलंगवा नपा-४ ढाँकामा पड्किँदा स्थानीय रामविश्वास रायका १५ वर्षीय छोरा आकाश राय घाइते भएका थिए । उक्त पेस्तोल निर्माणाधीन हनुमान मन्दिरभित्र बेवारिसे अवस्थामा फेला परेको थियो ।
अभियुक्तहरूमाथि कर्तव्य ज्यान, हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा कानुनबमोजिम म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
पोस्टमार्टम रिपोर्टअनुसार, मृतकको मृत्यु छातीमा लागेको गोलीका कारण भएको उल्लेख गरिएको छ ।







