काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले संघीय निजामती सेवा ऐन कार्यान्वयनमा आएपछि प्रशासनिक संघीयता थप प्रभावकारी हुने विश्वास व्यक्त गरेकी छन्।
राष्ट्रिय सभामा विनियोजन विधेयक, २०८३ सम्बन्धी छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री रावलले ट्रेड युनियन संरचनामा हालै भएका व्यवस्थागत परिवर्तनहरूले निजामती सेवाभित्र देखिँदै आएका विकृति र विसंगति नियन्त्रणमा योगदान पुग्ने बताइन्।
उनका अनुसार प्रशासनिक सुधार र सेवा प्रवाहलाई व्यवस्थित बनाउन संस्थागत संरचनामा सुधार आवश्यक छ, जसका लागि संघीय निजामती सेवा ऐन महत्वपूर्ण आधार बन्नेछ। उनले सो ऐन लागू भएपछि संघीय प्रणालीअनुसार प्रशासनिक अभ्यास अझ व्यवस्थित र परिणाममुखी हुने अपेक्षा गरिएको पनि उल्लेख गरिन्।
मन्त्री रावलले निजामती सेवाको कार्यक्षमता अभिवृद्धि र प्रशासनिक अनुशासन सुदृढीकरणका लागि चालिएका नीतिगत प्रयासहरू क्रमशः प्रभावकारी बन्दै गएको दाबी समेत गरिन्।







