महेन्द्रनगर । कञ्चनपुर उद्योग वाणिज्य संघले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरलाई लागुऔषध नियन्त्रणका लागि आवश्यक चेकजाँच उपकरण हस्तान्तरण गरेको छ ।
वाणिज्य संघमा आज आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मदन कोइराला र संघका अध्यक्ष दिनेश मल्लले प्रहरीलाई ती उपकरण, पाँच थान साइकल, टर्चलाइटलगायतका सामग्री हस्तान्तरण गरे ।
त्यस अवसरमा प्रमुख जिल्ला अधिकारी कोइरालाले समुदायको सुरक्षा र लागुऔषधविरुद्धको अभियानमा निजी क्षेत्रको सहभागिता प्रशंसनीय रहेको जनाउँदै हस्तान्तरण गरिएका सामग्रीले प्रहरीलाई अपराध नियन्त्रणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
कञ्चनपुरका प्रहरी प्रमुख नेत्रमणि गिरीले प्रहरीलाई प्राप्त उपकरणले लागुऔषधविरुद्धको अभियानलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने हुँदा यस्ता कार्यमा समाजका सबै पक्षको सहयोगको अपेक्षा गरिएको बताए ।
सङ्घका अध्यक्ष दिनेश मल्लले युवापुस्ता लागु औषधमा फसेकाले यसको नियन्त्रणका लागि सबैले सामाजिक उत्तरदायित्वअन्तर्गत सुरक्षा निकायसँग सहकार्य गर्नुपर्ने आवश्यकता औँल्याए ।
उनले भने, “शान्ति, सुरक्षा र लागुऔषधमुक्त समाज निर्माणमा सङ्घले निरन्तर सहयोग गर्ने छ ।” सङ्घले प्रहरीलाई लागूपदार्थ सेवन चेकजाँचका लागि मासिक रूपमा १०० कीट प्रदान गर्ने समेत जनाएको छ ।








