काठमाडौँ । काठमाडौँमा आत्मदाह प्रयासपछि उपचारका क्रममा मृत्यु भएका मुगुका गणेश नेपालीका परिवारलाई नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले एक लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएका छन्।
नेपाली काँग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्तिअनुसार सभापति थापाले व्यक्तिगत तर्फबाट राहत स्वरूप उक्त रकम प्रदान गरेका हुन्।
विज्ञप्तिमा सभापति थापाले दिवंगत गणेश नेपालीप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनको आत्माको चिर सान्तीको कामना गरेका छन्। साथै, शोकाकुल परिवारजनप्रति गहिरो समवेदना पनि व्यक्त गरेका छन्।
मुगुको सोरु गाउँपालिका-१ निवासी २५ वर्षीय गणेश नेपालीले गत असार २५ गते काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडिको सडकमा आफ्नै मोटरसाइकलबाट पेट्रोल निकालेर शरीरमा आगो लगाएका थिए। गम्भीर घाइते भएका उनको उपचारका क्रममा भोलिपल्ट वीर अस्पतालमा मृत्यु भएको थियो।






