काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले विपदबाट प्रभावित प्रत्येक परिवारको साथमा राज्य रहेको बताउँदै उद्धारको प्रतीक्षामा रहेका सबै नागरिकसम्म सरकार पुग्ने प्रतिबद्धता जनाएका छन्।
रक्षा बन्धनका अवसरमा शुक्रबार फेसबुकमार्फत विपद् प्रतिकार्यको पछिल्लो विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले सरकारको सम्पूर्ण ध्यान प्रभावित नागरिकमै केन्द्रित रहेको बताएका हुन्।
‘यस कठिन घडीमा विपदबाट प्रभावित प्रत्येक परिवारको साथमा राज्य छ। उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्नेछ,’ प्रधानमन्त्री शाहले भनेका छन्।
उनले प्रभावित क्षेत्रको वास्तविक अवस्था बुझेर आवश्यक निर्णय लिने र सोहीअनुसार स्रोतसाधन परिचालन गर्ने गरी सरकार निरन्तर काम गरिरहेको उल्लेख गरेका छन्।
चार हजार ४५१ जनाको उद्धार
प्रधानमन्त्रीका अनुसार रसुवा तथा भोटेकोशी-त्रिशूली करिडोरलगायत बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार र राहतका लागि १५ हजार ४३१ सुरक्षाकर्मी परिचालन गरिएको छ।
नेपाल प्रहरीका चार हजार ४७३, नेपाली सेनाका छ हजार ७५५ र सशस्त्र प्रहरी बल नेपालका चार हजार २०३ जना प्रभावित क्षेत्रमा खटिएका छन्।
हालसम्म चार हजार ४५१ जनाको उद्धार गरिएको छ। यसमा जलविद्युत् आयोजनाका सुरुङबाट उद्धार गरिएका १९१ र शुक्रबार हवाई माध्यमबाट उद्धार गरिएका ५१७ जनासमेत छन्।
नेपाली सेना तथा निजी क्षेत्रका १६ हेलिकप्टर परिचालन गरी धुन्चे, त्रिशूली, टिमुरे र स्याफ्रुबेँसीलगायत क्षेत्रमा निरन्तर ‘सटल फ्लाइट’ सञ्चालन गरिएको छ। हालसम्म ९९ वटा हवाई उडान भएका छन्।
सुरुङको उद्धार उच्च प्राथमिकतामा
प्रधानमन्त्री शाहले अपर त्रिशूली जलविद्युत् आयोजना, रसुवागढी जलविद्युत् केन्द्र तथा अन्य जोखिमयुक्त सुरुङमा फसेका नागरिक र कामदारको उद्धारलाई उच्च प्राथमिकता दिइएको बताएका छन्।
सुरुङभित्र खोज तथा उद्धार प्रभावकारी बनाउन आवश्यक विशेष उपकरणसहित टोली परिचालन गरिएको छ।
खोजी कार्य रसुवाबाट नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन र नवलपरासीसम्मको त्रिशूली–नारायणी नदी करिडोरमा विस्तार गरिएको छ। थप सुरक्षाकर्मी परिचालन गरी सम्पर्कविहीन नागरिक तथा शवको खोजी भइरहेको छ।
हालसम्म १२९ विदेशी पर्यटक तथा नागरिकको उद्धार र पहिचान भएको छ। दूतावास तथा सम्बन्धित परिवारसँग समन्वय गर्न परराष्ट्र मन्त्रालयले आपत्कालीन नियन्त्रण कक्ष सञ्चालन गरेको छ।
‘विदेशी सहयोग अस्वीकार गरिएको प्रचार भ्रामक’
प्रधानमन्त्रीले विदेशी सहयोग अस्वीकार गरिएको भन्ने प्रचार भ्रामक भएको स्पष्ट पारेका छन्।
भारत, चीन तथा अन्तर्राष्ट्रिय साझेदारसँग उद्धार र राहतका लागि आवश्यक सहयोग तथा सामग्रीबारे निरन्तर समन्वय भइरहेको उनको भनाइ छ। हेलिकप्टर परिचालन गर्दा हवाई सुरक्षा, भौगोलिक पहुँच र वास्तविक आवश्यकतालाई ध्यान दिइएको उनले बताएका छन्।
राहत र पूर्वसूचनामा जोड
प्रभावित क्षेत्रमा हालसम्म ३२ ट्रक खाद्य तथा गैरखाद्य राहत सामग्री पठाइएको छ। हेलिकप्टरबाट छ उडान गरी राहत सामग्री पुर्याइएको छ भने सञ्चार सेटसमेत पठाइएको छ।
भोटेकोशी तथा तल्लो तटीय क्षेत्रमा पुनः बाढी आउन सक्ने जोखिमको निरन्तर निगरानी भइरहेको छ। सम्भावित जोखिम रहेका क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा सार्न तयारी गर्नुका साथै दुई लाखभन्दा बढी एसएमएस अलर्ट पठाइएको छ।
गृहमन्त्री प्रभावित जिल्लामै उपस्थित भएर सुरक्षा निकाय, स्थानीय प्रशासन, स्थानीय तह तथा सम्बन्धित निकायसँग समन्वय गर्दै आवश्यक निर्देशन दिइरहेको प्रधानमन्त्रीले जानकारी दिएका छन्।
रसुवा सडक सञ्जालमा जोडियो
प्रधानमन्त्रीका अनुसार वैकल्पिक सडक सञ्चालनमा ल्याई रसुवालाई पुनः सडक सञ्जालसँग जोडिएको छ। काठमाडौँ-मुग्लिङ सडकसमेत एकतर्फी सञ्चालनमा आएको छ।
काठमाडौँ-टोखा–छहरे-गड्खार पुल-आप्र-नर्जा-लच्याङ-सरमथली-पाटीखर्क हुँदै बोगटीटार-कालिकास्थान-धुन्चेसम्मको वैकल्पिक सडक साना चारपाङ्ग्रे सवारीसाधनका लागि खुलाइएको छ।
क्षतिग्रस्त पुलमा बाइपास खोल्ने काम सुरु भएको छ। नियमित सडक सम्पर्क पुन:स्थापनाका लागि भारत र चीनबाट ४८ मिटर लम्बाइका १० वटा बेलिब्रिज उपलब्ध गराउन औपचारिक पहल गरिएको छ।
खानेपानी, इन्धन र स्वास्थ्यको व्यवस्था
नुवाकोटमा काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका चारवटा पानी ट्यांकर परिचालन गरिएको छ। सुरक्षित खानेपानीका लागि ९०० किलो ब्लिचिङ पाउडर प्रभावित क्षेत्रमा पठाइएको छ।
नुवाकोटका भैरवी, सूर्यमती र पञ्चकन्या आयल स्टोरमा ४१ हजार लिटर डिजेल र २४ हजार लिटर पेट्रोल मौज्दात छ। थप १७ हजार लिटर हवाई इन्धन नुवाकोट पठाइएको छ।
स्वास्थ्य आपत्कालीन सञ्चालन केन्द्र सक्रिय गर्दै छवटा अस्पताललाई तयारी अवस्थामा राखिएको छ। वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर र धुलिखेल अस्पताललगायतबाट मेडिकल टोली परिचालन गरिएको छ।
कम्तीमा पाँच हजार जनसंख्यालाई लक्षित गरी टेन्ट र आपत्कालीन स्वास्थ्य सामग्रीको व्यवस्था गरिएको छ। रोगको निगरानी तथा मातृ–बाल स्वास्थ्यसहित अत्यावश्यक स्वास्थ्य सेवा निरन्तर राखिएको प्रधानमन्त्रीले बताएका छन्।
सेवा पुन:स्थापना र क्षति मूल्यांकन
सडक, पुल, विद्युत्, खानेपानी, दूरसञ्चार, जलविद्युत् तथा अन्य संरचनाको क्षति मूल्यांकनका लागि विषयगत समूह र १५ वटा प्राविधिक टोली परिचालन गरिएको छ।
बाढीबाट प्रभावित १९८ दूरसञ्चार टावर तथा साइटमध्ये १४५ वटा सञ्चालनमा आएका छन्। नेपाल टेलिकमका १२० मध्ये ८२ र एनसेलका ७८ मध्ये ६३ साइट सञ्चालनमा ल्याइएको छ।
नुवाकोटको करिब ९० प्रतिशत क्षेत्रमा विद्युत् सेवा सुचारु भएको छ। धुन्चेमा विद्युत् सेवा सञ्चालनका लागि काम भइरहेको छ।
जोखिममा रहेका परिवारका लागि आपत्कालीन आश्रय स्थल पहिचान र स्थानान्तरणको काम अघि बढाइएको छ। सडक तथा पुल अवरुद्ध भएका बस्तीमा पहुँच पुर्याउन रसुवा र नुवाकोटका करिब १० स्थानमा तुइन निर्माण गर्ने तयारी गरिएको छ।
१५ स्थानीय तहलाई छ करोड ७५ लाख
बाढी तथा विपद्बाट प्रभावित १५ स्थानीय तहलाई तत्काल राहत, उद्धार र आवश्यक व्यवस्थापनका लागि छ करोड ७५ लाख रुपैयाँ उपलब्ध गराइएको प्रधानमन्त्रीले बताएका छन्।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो करिब ३६ घण्टामा एक अर्ब ९० करोड रुपैयाँभन्दा बढी संकलन भएको छ।
प्रभावित व्यक्ति, परिवार र व्यवसायका लागि राहत तथा पुन:स्थापना प्याकेज तयार भइरहेको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार प्रभावित व्यक्ति तथा व्यावसायिक संस्थालाई लक्षित गरी व्यवसाय पुनरुत्थान प्याकेज बनाउने काम अघि बढाइएको छ।
प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सबै सदस्यको एक महिनाको तलब तथा पारिश्रमिक उद्धार कोषमा जम्मा गर्ने व्यवस्था अघि बढाइएको छ।
प्रधानमन्त्री शाहले राहत, उद्धार र पुन:स्थापनाका लागि सुरक्षा निकाय, स्वास्थ्य संस्था, रेडक्रस, नेपाल स्काउट, स्वयंसेवी संस्था, निजी क्षेत्र तथा विकास साझेदारसँग समन्वय गरी स्रोतसाधन परिचालन भइरहेको बताएका छन्।
उनले ‘रोड टु यूएफसी’को फाइनलमा प्रवेश गरेका नेपाली एमएमए खेलाडी रवीन्द्र ढाँटलाई बधाई दिँदै नेपालको विपद् अवस्थाबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराएकोमा सरकारका तर्फबाट धन्यवादसमेत दिएका छन्।






