काठमाडौँ। नेपाली सेनाले बाढी प्रभावित विभिन्न क्षेत्रबाट हालसम्म चार हजार २२० जनाको हवाई उद्धार गरेको छ। सेनाले आइतबार साँझ ६ बजेसम्म सार्वजनिक गरेको विवरणअनुसार उद्धार गरिएकामध्ये तीन हजार ९३७ नेपाली र २८३ विदेशी नागरिक छन्।
बाढी प्रभावित क्षेत्रमा हवाई तथा स्थलमार्गबाट खोज, उद्धार, राहत र स्वास्थ्य उपचारको काम जारी रहेको सेनाले जनाएको छ।
तीन जलविद्युत् आयोजनामा खोजी
माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनामा सेनाले खोज तथा उद्धार कार्य जारी राखेको छ। त्रिशूली-३ ‘ए’ आयोजनाको सुरुङ र विद्युत्गृह क्षेत्रमा पनि खोजी भइरहेको छ। त्रिशूली-३ ‘बी’ आयोजनामा समेत खोजी कार्य निरन्तर रहेको सेनाले जनाएको छ।
यी क्षेत्रमा खोजीको अवस्था र फेला परेका व्यक्तिसम्बन्धी थप विवरण भने सार्वजनिक गरिएको छैन।
आठ हजार ७०० भन्दा बढी सैनिक परिचालन
रसुवा र नुवाकोटका प्रभावित क्षेत्रमा सेनाले आधार शिविर स्थापना गरी पैदल गस्तीमार्फत खोजी गरिरहेको छ। त्रिशूलीपारि कोलोनी, तुप्चे, दानसिङ, सामरी भञ्ज्याङ, कालिकास्थान र मान्चेतलगायत स्थानमा सेनाको टोली परिचालित छ।
रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन तथा पूर्वी र पश्चिम नवलपरासीसम्मका प्रभावित क्षेत्रमा आठ हजार ७०० भन्दा बढी सैनिक प्रत्यक्ष रूपमा खटिएका छन्।
उनीहरूले खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, राहत सामग्री ढुवानी, अवरुद्ध सडक र पुल सञ्चालन तथा आपत्कालीन उपचारमा सम्बन्धित निकायसँग समन्वय गरेर काम गरिरहेको सेनाले जनाएको छ।
बेत्रावतीमा बेलिब्रिज जडानको तयारी
बेत्रावती नदीमा बेलिब्रिज जडानका लागि आवश्यक तयारी अघि बढाइएको छ। बेलिब्रिजको आधार तयार गरिने स्थानसम्म पुग्ने बाटो निर्माण गर्न ब्लास्टिङको काम भइरहेको सेनाले जानकारी दिएको छ।
चार हजारभन्दा बढीले पाए स्वास्थ्य सेवा
सेनाले त्रिशूली र धुन्चेमा स्थापना गरेका आपत्कालीन उपचार केन्द्र तथा मेडिकल गस्तीबाट आइतबार १३ जनाले स्वास्थ्य सेवा लिएका छन्।
ती केन्द्र तथा मेडिकल टोलीबाट हालसम्म कुल चार हजार १६ जनाले स्वास्थ्य सेवा प्राप्त गरेको सेनाले जनाएको छ।






