काठमाडौं । सरकारले दुई सहसचिवलाई सचिवमा बढुवा गर्दै पदस्थापनसमेत गरेको छ।
मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव आभा श्रेष्ठ कर्ण र डा. जगदीश्वर कर्माचार्यलाई राजपत्राङ्कित विशिष्ट श्रेणीमा बढुवा गरी जिम्मेवारी तोकेको हो।
सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलका अनुसार प्रशासनतर्फ कर्णलाई सचिवमा बढुवा गरी गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रमुख सचिवमा पदस्थापन गरिएको छ।
त्यस्तै, नेपाल इन्जिनियरिङ सेवातर्फ डा. कर्माचार्यलाई राजपत्राङ्कित विशिष्ट श्रेणीमा बढुवा गरी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको सचिवमा पदस्थापन गरिएको छ।
यसअघि प्रशासनतर्फ रिक्त सचिव पदमा बढुवाका लागि कर्ण पहिलो नम्बरमा सिफारिस भएकी थिइन्। प्राविधिकतर्फ कर्माचार्य पनि पहिलो नम्बरमै सिफारिस भएका थिए।
कर्ण गण्डकी पुग्दा बरालको जिम्मेवारी टुंगिन बाँकी
कर्णलाई गण्डकी प्रदेशको प्रमुख सचिवमा पदस्थापन गर्ने निर्णयसँगै हाल उक्त जिम्मेवारीमा रहेका भूपाल बरालको नयाँ जिम्मेवारी भने टुंगिन बाँकी छ।
मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दा बराललाई कहाँ सरुवा वा पदस्थापन गर्ने भन्ने खुलाइएको छैन। कर्णले जिम्मेवारी सम्हालेपछि बराललाई संघीय सरकारको कुनै निकायमा ल्याइने वा अन्य जिम्मेवारी दिइने भन्ने विषयमा थप निर्णय हुनुपर्ने देखिएको छ।
बराल यसअघि अर्थ मन्त्रालयमा राजस्व सचिव थिए। उनलाई संघबाट गण्डकी प्रदेशको प्रमुख सचिवमा पठाइएको थियो।
दवाडीको सरुवापछि रिक्त ऊर्जामा कर्माचार्य
कर्माचार्यको पदस्थापनसँगै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा दुई साताअघि गरिएको सचिव सरुवाको प्रसंग पनि जोडिएको छ।
सरकारले तत्कालीन ऊर्जा सचिव सरिता दवाडीलाई नेपाल ट्रस्टको कार्यालयमा सरुवा गरेपछि मन्त्रालयको सचिव पद रिक्त राखिएको थियो। त्यसयता कर्माचार्यले मन्त्रालयमा निमित्त सचिवको जिम्मेवारी सम्हाल्दै आएका थिए।
प्राविधिकतर्फ सचिव बढुवाको प्रक्रिया अघि बढिरहेका बेला मन्त्रालयको सचिव पद रिक्त रहनु र पहिलो नम्बरमा सिफारिस भएका कर्माचार्यलाई बढुवालगत्तै सोही मन्त्रालयको सचिवमा पदस्थापन गरिएको छ।
यद्यपि दवाडीको सरुवा कर्माचार्यलाई नै ऊर्जा मन्त्रालयमा ल्याउने प्रयोजनका लागि गरिएको थियो भन्नेबारे सरकारले औपचारिक रूपमा केही बताएको छैन।
नयाँ बढुवा भएका सचिवलाई प्रदेशको प्रमुख सचिवलगायत जिम्मेवारीमा पठाउने र वरिष्ठ तथा अनुभवी सचिवलाई संघीय मन्त्रालय तथा केन्द्रीय निकायमा जिम्मेवारी दिने अभ्यास प्रशासनमा रहँदै आएको छ। पछिल्लो समय भने सचिवको सरुवा तथा पदस्थापनमा उक्त अभ्यास समान रूपमा कायम रहेको देखिँदैन।
यसपटक प्रशासनतर्फ बढुवा भएकी कर्णलाई गण्डकी प्रदेशको प्रमुख सचिवमा पठाइएको छ भने प्राविधिकतर्फ बढुवा भएका कर्माचार्यलाई बढुवालगत्तै संघीय सरकारको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको सचिवको जिम्मेवारी दिइएको छ।
दुई साताअघि दवाडीलाई नेपाल ट्रस्ट पठाएपछि रिक्त रहेको ऊर्जा मन्त्रालयले कर्माचार्यको बढुवासँगै सचिव पाएको छ। अर्कोतर्फ, कर्णलाई गण्डकी पठाउने निर्णय भएसँगै त्यहाँका प्रमुख सचिव बरालको अबको जिम्मेवारी कहाँ हुने भन्ने टुंगो लाग्न बाँकी छ।



