काठमाडौँ । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-३ का वडाध्यक्ष केशरमान बिकलाई प्रहरी हिरासतमा कुटपिट गरिएको आरोपबारे छानबिन गर्न कर्णाली प्रदेश प्रहरीले तीन सदस्यीय समिति गठन गरेको छ।
पक्राउपछि हिरासतमा रहेका वडाध्यक्ष बिकमाथि कुटपिट भएको आरोप सार्वजनिक भएपछि घटनाको सत्यतथ्य पत्ता लगाउन प्रहरी उपरीक्षक (एसपी) रामप्रसाद घर्ती मगरको संयोजकत्वमा समिति गठन गरिएको हो।
कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सन्तोष सिंह राठोरका अनुसार समितिलाई घटनाको वास्तविकता अध्ययन गरी यथाशीघ्र प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ।
समितिले घटनासँग सम्बन्धित तथ्य तथा परिस्थितिको अध्ययन गरी प्रतिवेदन तयार गर्ने राठोरले जानकारी दिए।



