काठमाडौँ । सरुवा विवादमा मुछिएकी उपसचिव सन्ध्या सिग्देलमाथि छानबिन गर्न मन्त्रालयले तीन सदस्यीय समिति गठन गरेको छ। छानबिन प्रक्रिया अघि बढेसँगै उनलाई मन्त्रीको निजी सचिवको जिम्मेवारीबाट अलग गर्ने निर्णयसमेत भएको प्रशासन सिंहदरबार विशेष स्रोतले जानकारी दिएको छ। मन्त्रालयकै एक उपसचिवको संयोजकत्वमा कानुन अधिकृतसहित तीन सदस्यीय छानबिन समिति गठन गरिएको स्रोतले पुष्टि गरेको हो।
स्रोतका अनुसार सिग्देलका सम्बन्धमा प्राप्त उजुरीको सत्यतथ्य पत्ता लगाउन समिति गठन गरिएको हो। हेलो सरकार तथा सतर्कता निकायलगायतका माध्यमबाट प्राप्त उजुरीमाथि अध्ययन र छानबिन गर्नु नियमित प्रशासनिक प्रक्रिया भएको स्रोतले जनाएको छ।
छानबिनको प्रक्रियामा रहेकी कर्मचारीलाई सोही जिम्मेवारीमा कायम राखेर छानबिन गर्नु उपयुक्त नहुने भएकाले सिग्देललाई मन्त्रीको निजी सचिवको भूमिकाबाट अलग गर्ने निर्णय भएको स्रोतको भनाइ छ। यद्यपि, उक्त निर्णय उनीमाथि विभागीय कारबाही गरिएको अर्थमा नभई छानबिन प्रक्रियासँग सम्बन्धित प्रशासनिक व्यवस्थापन भएको स्रोतले स्पष्ट पारेको छ।
यसबारे उपसचिव सिग्देलसँग बुझ्दा उनले आफू यतिबेला मन्त्रीकै सचिवालयमा रहेको र जिम्मेवारीबाट हटाइएको पत्र प्राप्त नगरेको बताइन्। मन्त्रालय स्रोतले जिम्मेवारीबाट अलग गर्ने निर्णय भइसकेको जनाए पनि सिग्देलको भनाइले उक्त निर्णयको औपचारिक जानकारी उनीसम्म पुगिनसकेको देखाउँछ।
प्रशासन डटकमले आज बिहान सिग्देलसँग जोडिएको सरुवा विवादबारे समाचार प्रकाशित गरेको थियो। सोही विवादका सन्दर्भमा मन्त्रालयले छानबिन प्रक्रिया अघि बढाएको जानकारी प्राप्त भएको हो।
समितिले उजुरीसँग सम्बन्धित विषयमा आवश्यक अध्ययन, तथ्य परीक्षण तथा छानबिन गरी निष्कर्ष निकालेपछि मात्रै थप निर्णयको आधार तयार हुने स्रोतले जनाएको छ।



