मनाङ । मनाङ जिल्लाको तिलिचो, खाङ्गसार, पिसाङ, अप्पर मनाङ र हुम्दे क्षेत्रमा कात्तिक १० गतेदेखि लगातार परेको भारी हिमपातका कारण विभिन्न स्थानमा फसेका नेपाली नागरिक तथा विदेशी पर्यटकहरूको उद्धार कार्य जारी छ।
प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालको नेतृत्वमा खटिएको उद्धार टोलीले बाक्लो हिमपातका कारण अवरुद्ध बनेको बाटो खुलाउँदै फसेका स्वदेशी तथा विदेशी पर्यटकहरूको उद्धार कार्य जारी राखेको छ।
तीव्र हिमपातका कारण पदमार्गहरू अवरुद्ध भएका र तापक्रम अत्यधिक घटेकाले पर्यटक तथा स्थानीयवासीहरू विभिन्न ठाउँमा फसेका छन्। कठिन मौसमका बीच नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीको उद्धार टोलीहरूले हेलिकप्टर तथा स्थलमार्ग दुवै प्रयोग गरी उद्धार गरिरहेका छन्।
प्रमुख जिल्ला अधिकारी पौड्यालका अनुसार बिहानैदेखि हिँडेको टोली यतिबेला बाटो खुलाउँदै टंकीमा पुगेको छ। ‘हिउँले अवरुद्ध भएको सडक खुलाउने र सवारीहरूलाई पास गराउनेसँगै फसेका यात्रुहरूको उद्धार सबै कार्य सँगसँगै अघि बढाइएको छ’ -उनले प्रशासनसँग भनेका छन्।









